जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार जुम्ला जाँदै छिन् । तयारी पूरा गरिएको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी बिहान ११ बजे जुम्ला पुग्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरमा आउन लागेकी राष्ट्रपति भण्डारी नेपाली सेनाको नन्दाबक्स गणमा अवतरण गर्ने छिन् ।
रजिष्ट्रार महतले भने, “एमबिबीएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा हुनेछ ।” राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ्ग जुम्ला पुगेका छन् ।
सो अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बीउ रोप्न पहल गर्ने कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतलगायत २२ जनालाई सम्मान गर्ने कार्यक्रम छ ।
प्रतिष्ठानको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा अगाडि बढाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउने ५१ जनालाई कदरपत्र प्रदान गरिनेछ । प्रतिष्ठान स्थापनाकालदेखिका पूर्वपदाधिकारीलाईसम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सूचना अधिकारी रमेश भट्टराईले बताए ।
एमबिबिएसमा १९, बिपीएचमा आठ, बिएनएसमा १६, बिफार्मामा आठ र बिएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।