शेखरले बनाए यस्तो प्यानल, को-को समेटिए ?

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिमा शेखर कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेसँगै शेखरको नेतृत्वमा प्यानल बन्ने भएको हो।

महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाममा सहमति भइसकेको कांग्रेसका एक नेताले बताए। तर, विश्वप्रकाश शर्माले पनि महामन्त्री मागिरहेका छन्। रिजालको नाम उपसभापतिमा उम्मेदवारी दिने चर्चा पनि छ।

उपसभापतिमा एक जना चन्द्र भण्डारी र अर्का एक जनाको नाम भने टुंगो लाग्ने चरणमा छ। रामशरण महत र महेश आचार्यमध्ये एक जना उपसभापतिमा नाम टुंगो लाग्ने बताइएको छ।

कांग्रेस नेताहरुका अनुसार सहमहामन्त्रीमा खस-आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल र थारुबाट तेजुलाल चौधरीको नाम चर्चामा छ।

हालसम्म सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने पार्टी सभापति शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने तयारीमा छन्।