टसमस नभएका सिंहको पछि लाग्यो लावालस्कर, पौडेललाई अब रह्यो कोइराला दाजुभाइकै भर

  • प्रकाशित मिति : २०७८ मंसिर २५, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसकाे संस्थापनइतर समूहमा सभापतिकाे साझा उम्मेदवार छान्ने प्रयास असफल भएकाे छ । सहमति नजुटेसँगै नेता प्रकाशमान सिंह सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।

अहिले उनी उम्मेदवारी घाेषणासभा गरिरहेका छन् । त्यहाँबाट उनी दलबलसहित भृकुटीमण्डपस्थस्थित महाधिवेशनस्थलमा गएर सभापतिमा मनाेनयन दर्ता गर्ने तयारीमा छन् ।

पाैडेल समूहले अथक प्रयास गरे पनि शेरबहादुर देउवाविरुद्ध सभापतिमा एकल उम्मेदवारी दिन नसकेकाे हाे । याे समूहबाट वरिष्ठ नेता रामचन्द्र पाैडेलसहित शशांक काेइराला, शेखर काेइराला र सिंह दाबेदार थिए ।

चारै जनाले एक अर्काका लागि त्याग गर्न नसकेपछि संस्थापनइतर समूह फुटेकाे हाे । उनीहरूले देउवालाई यसपटक जसरी पनि हराउने बताइरहेका थिए । कोइराला दाजुभाइले पौडेललाई समर्थन गर्न सकिने संकेत गरे पनि नेता सिंह आफ्नो दाबेदारीबाट टसमस नभएका हुन् । सभापतिमा साझा उम्मेदवार दिन नसके पनि अरु पदहरूमा भने प्यानल बनाएर अघि बढ्ने विकल्पबारे पनि पौडेल समूहमा छलफल चलिरहेको छ ।