३० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने यी हुन् ९ लघुवित्त, कुनले कति तोके ?

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।

यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत ३७ वटा माइक्रोफाइनान्स कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स कम्पनीहरूले औसतमा २४.८८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये महिला लघुवित्तले सबैभन्दा धेरै ५० प्रतिशत लाभांश घोषणा गरेको छ भने एनआइसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत घोषणा गरेको छ ।

हालसम्म लाभांश घोषणा गरेका ३७ लघुवित्तमध्ये ९ वटाले ३० प्रतिशतभन्दा धेरै घोषणा गरेका छन् भने ११ वटाले २५ देखि ३० प्रतिशत बीचमा लाभांश घोषणा गरेका छन् । त्यस्तै, १७ वटाले औसतभन्दा कम अर्थात् २५ प्रतिशतभन्दा कम लाभांश घोषणा गरेका छन् ।

गत वर्षको नाफाबाट ३० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्नेहरूमा महिला, नेशनल, स्वाभिमान, फरवार्ड, सबैको, सपोर्ट, उन्नति सहकार्य, निर्धन उत्थान र छिमेक लघुवित्त रहेका छन् ।

यीमध्ये सबैभन्दा धेरै महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेप्सेमा सूचीकृत माइक्रोफाइनान्समध्ये दोस्रो धेरै महँगो सेयर मूल्य रहेको महिलाले गत आवको नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

हालसम्म लाभांश गरेका लघुवित्तमध्येमा दोस्रो धेरै नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत घोषणा गरेको छ । नेशनलले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, फरवार्डले ३५ बोनस र ७ प्रतिशत नगद गरी ४२ प्रतिशत, स्वाभिमान ३२.७० प्रतिशत बोनस र १.७० नगद गरी ३४ प्रतिशत, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद गरी ३२.६८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तले ३२ प्रतिशत, निर्धन उत्थान ३१.०५, सपोर्ट माइक्रोफाइनान्स र छिमेकले समान ३० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लघुवित्तहरूले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । लाभांश घोषणा गर्नेमध्ये महिला, स्वाभिमान, सबैको लघुवित्तले साधरण सभा डाकी बुकक्लोज समेत गरिसकेका छन् ।