ओली बोल्दा बोल्दै माधव-प्रचण्डले मन्च छोडे, राजेन्द्रको तर्कलाई ओलीले यसरी ठाडै तोडे

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

सत्तारुढ दल नेपाली कांग्रेसको चौधौं महाधिवेशन आज शुक्रबार काठमाडौंमा सुरु भएको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरे।

दिउँसो एक बजेका लागि तय भएको उद्घाटन सत्र करिब एक घण्टा ढिलो गरी सुरु भयो। कांग्रेसलाई शुभकामना दिन देशका सबैजसो राजनीतिक दलका शीर्ष नेतासहित छिमेक भारतबाट समेत केही पाहुना आएका थिए। सुरुमा विदेशी पाहुनाले नै बोल्ने अवसर पाए। उनीहरु कांग्रेसलाई शुभकामना दिएर बिदा पनि भइहाले।

सबैभन्दा पहिले बोलेका भारतीय राष्ट्रिय कांग्रेसका नेता मुकुल वास्निकले नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रूपमा बोल्न पाउँदा खुशी लागेको सुनाए। ३४ वर्ष पहिले संयुक्त राष्ट्रसंघको महासभामा बोल्दा पनि आफूलाई यस्तै खुशी लागेको उनले बताए।

‘मलाई खुशी लागिरहेको छ भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट उपस्थित हुन पाउँदा। ३४ वर्ष पहिले १९४७ मा मलाई संयुक्त राष्ट्रसंघको महाधिवशेन्मा बोल्ने अवसर मिलेको थियो। त्यतिबेला म गौरवान्वित भएको थिए, आज त्यस्तै अनुभव भइरहेको छ। किनकी कांग्रेस लोकतन्त्रको महत्वपूर्ण कडी हो।’

भारतीय जनता पार्टीका नेता तथा भारतीय पूर्व स्वास्थ्यमन्त्री हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिले नदेखेको बताए। ‘एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको थिएन। भारतमा पनि यस्तो देखेको थिएन,’ उनले भने। पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको अध्यक्षतामा दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकेन्द्रबहाुर चन्दसमेतको नाम उल्लेख गर्दै उनले यस्तो बाताएका थिए।

पूर्वप्रधानमन्त्री मात्र नभएर प्रमुख राजनीतिक दलका नेताहरू एकैस्थानमा भेला भएको भन्दै उनले कांग्रेस महाधिवेशन उद्घाटन समारोहको प्रशंशा गरेका थिए। उनले भारत र नेपालको सम्बन्ध आत्मा र दिमागजस्तो भएको उल्लेख गरेका थिए। ‘हाम्रो संस्कृति र हिन्दुत्व वर्षौंदेखि कायम रहँदै आएको छ। यहाँका मान्छेलाई दुःख हुँदा त्यसको बढी दुःख भारतलाई हुन्छ। भूकम्पका बेला हाम्रा प्रधानमन्त्री निकै चिन्तित हुनुहुन्थ्यो। उहाँले ६ घन्टा भित्रै सहयोग पठाउनु भएको थियो।’

दुवैजना आफ्नो बोल्ने पालो सकिएपछि हिँडेका थिए।

विदेशी पाहुनापछि पालो आयो विभिन्न दलका शीर्ष नेताहरुको। नेताहरुले कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना त दिए नै। आफ्ना कुरा बढी राखे, आफ्नो पार्टीको कुरा गरे। त्यसो त कार्यक्रम उद्घोषक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अतिथिहरुलाई पोडियममा बोलाउने क्रममा ‘आफ्नो विचार राखिदिनुहुन’ भन्दै आमन्त्रण गरेका थिए। ‘शुभकामनाका लागि’ भनेर उनले उल्लेख गरेका थिएनन्।

सबैभन्दा पहिले बोलेका नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताए। उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए।

आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहेका टिप्पणी गरे। देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेको उनको आरोप थियो।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अब राष्ट्र प्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे। कार्यक्रममा उनले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिए। सो क्रममा उनले भने, ‘सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन। सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन। नेता आउँदा चोर आयो भन्छन्।’ उनले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभई नेतृत्व चयन र बिग्रिएको छवि सुधार गर्ने अवसर पनि भएको बताए।

मुलुकको जेठो राजनीतिक दलको महाधिवेशनको सफलताको कामना गर्दै उनले उनले २०४७ सालपछि कुनै सरकारले पूरा कार्यकाल पूरा गर्न नसक्नु र कुनै पनि दल सिंगो नरहनुको कारण खोज्नुपर्ने पनि बताए।

अध्यक्ष लिङ्देनले गाउँघरमा राजनीतिक दलका नेताप्रति वितृष्ण पैदा हुँदै गएको पनि टिप्पणी गरे। ‘हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ताले नेता बोलाउँदा कुनै एउटा भवनमा वा चौतारोमा नेता बोलाएर राख्छन् र छरछिमेकलाई हाम्रो नेता आउनुभएको छ एकछिन् जाऔं न भनेर बोलाउन जान्छन्, नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैन। कुन चाहिँ चोर आएछ भनेर भन्छन्। हाम्रो अवस्था यस्तो छ। त्यसकारण महाधिवेशन औपचारिकता वा वैधानिकतामा मात्रै सीमित हुनुहुँदैन, नेतृत्वको बिग्रिएको छवि सुधार्न पनि प्रयोग गर्नुपर्छ।’

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताए। उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने तर्क गरे। संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए।

‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौं। ज्वालामुखीजस्तै विस्फोट हुन्छ। हामी सडकमा उत्रनुपर्ने हुन्छ। यस्तो अवस्था नआओस्,’ उनले भने। ठाकुर लामो समय कांग्रेसमा आवद्ध थिए।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताए। उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए। ‘अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न हुँदैन,’ उनले भने।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न सुझाव दिए। नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका हुन्।

उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफमा नेपालले यस्तो चेतावनी दिएका हुन्। देशको राजनीतिमा कालो बादल मडारिएको उनले बताए। राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए।

एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए। नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति नेपालमा रहेको बताए। भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए। त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका हुन्। प्रचण्डले त्यसो भन्दै गर्दा हर्षवद्र्धन भने कार्यक्रमबाट हिँडिसकेका थिए।

प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि जवाफ दिए। भने, ‘‘अघि एक जना नेताले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्। राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिएको छ। त्यस्तो अवस्था छैन।’

सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैंले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए। शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए।

बोल्ने पालो अन्तिममा आएका एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताए। कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको उनले बताएका थिए। उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए।

अध्यक्ष ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन्। उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्नँ छाड्नुपर्छ। आफ्नो एजेण्डा लिएर अघि बढोस्।’

अध्यक्ष ओलीले आफू कांग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताए। उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए। यद्यपि, उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई जवाफ फर्काइहाले। ओलीले लिङ्देनलाई ‘भर्खरको बाच्छो’ भएको टिप्पणी गरे। आफ्नो सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओलीले त्यसको प्रतिवाद गरेका हुन्।

‘हरेक नेता चोर हुन्छ? यस्ता कुरा बोकेर हिँड्ने? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ। अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ,’ उनले भने।

ओलीले थपे, ‘कोही जन्मदै शासक भएर जन्मिन्छ्न् भन्ने निराधार सिद्धान्त बोकेर हिँड्ने, संयुक्त राष्ट्रसंघका सिद्धान्त विपरीतका धारणा बोकेर हिँड्ने? नागरिकबाट उठेर आएको नेता चोर हुन्छ?’

कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए। उनी त्यहाँबाट ‘कांग्रेसलाई सम्झाउन जान्छु’ भन्दै निस्किएका थिए।

ओली बोल्दाबोल्दै माइक अफ भइदियो। माइकको साउन्ड गएपछि ओलीले केही बेर साउन्ड जाँच गरे स्पिकरमा औंलाले, तर साउन्ड आएन। त्यसपछि उनले आफूले बोल्ने पालो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको भन्दै मञ्चमा गएर बसे।

एकैछिनमा माइकमा साउन्ड आएको जानकारी कार्यक्रम सञ्चालन गरिरहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइयो। शर्माले पूर्वप्रधानमन्त्री ओलीले बोल्दाबोल्दै माइक गएकाले बाँकी भनाइ राख्नका लागि ओलीलाई आग्रह गरे। मञ्चमा पुगेर कुर्सीमा बसिसकेका ओली मुस्कुराउँदै फेरि आए र हँसिलो पारामा पुनः स्पिकरको साउन्ड परीक्षण गरेर बोल्न थाले अनि आफ्नो कुरा टुंग्याए।

ओलीले सम्बोधन नसक्दै माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका थिए।