सवा एक घण्टा ढिलो गरि कांग्रेसको १४औं महाधिवेशन सुरु, ओली बाहेकका सबै नेता पुगे

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। शुक्रबार दिउँसो १ बजे सुरु हुने भनिएको महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा भने सवा एक घण्टापछि सुरु भएको हो।

औपचारिक रुपमा उद्घाटन समारोह सुरु हुनुअघि विभिन्न भाषाका गीत तथा नाचगान प्रस्तुत गरिएको थियो। उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएसँगै सभापति शेरबहादुर देउवालगायत पार्टीका उच्च तहका नेताहरुले बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए।

महाधिवेशनमा भाग लिनका लागि नेपालका विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमो उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मालेका महासचिव सीपी मैनाली पनि सहभागी भएका छन्। नेकपा (एमाले)को तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले सहभागिता जनाउने भनिए पनि साढे २ बजेसम्म पुगिसकेका छैनन्।

भारतका केही नेताहरु पनि उद्‍घाटनसत्रमा आइपुगेका छन्। कार्यक्रमको सञ्चालन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन्।