विपीको सपना साकार पार्न केन्द्रीय सदस्यमा लिलाको उम्मेद्वारी, को हुन् लिला ? किन दिने मत ?

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

चीन र भारत संग सीमाना जोडिएको सुदूर पूर्वको ताप्लेजुङ्गमा कांग्रेसलाई काँध थापेर हिडेकी लिला बोखिमले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन्। ताप्लेजुङ्ग जस्तो हिमाली जिल्लामा कांग्रेसलाई थप मजबुत बनाएकी लिलाले यस अघि जिल्ला सभापति भएर ताप्लेजुङ्गलाई कांग्रेसमय बनाउने अभियानलाई तिब्र बनाएकी छिन्।

पछिल्ला दिनमा ताप्लेजुङ्गमा कांग्रेस र लिला बोखिम एक अर्काका पर्यायबाची शब्द जस्तै बनेका छन्। आफ्नो व्यक्तिगत स्वार्थ बोकेकाले बिगारेको ताप्लेजुङ्ग कांग्रेसलाई लिलाले निस्वार्थ जुरुक्कै बोकिन् र बिपी कोइरालाले बोकेको कांग्रेसको प्रजातान्त्रिक समाजवादलाई मर्न दिईनन्। त्यसैले पनि ताप्लेजुङ्गका मात्र नभएर लिलालाई जान्ने बुझ्ने कांग्रेसी उनको श्रद्दा र निष्ठाको तारिफ गर्दै एक पटक भारी मतले कांग्रेस केन्द्रिय सदस्यमा जिताउने अभियानमा होमिएका छन्।

को हुन् त लिला देवी बोखिम ?

लिलादेवी बोखिमले घरबाटै राजनीति सिकिन् । बुबा कालीबहादुर बोखिम प्रधानपञ्च थिए । बुबाले प्रधानपञ्च भएर २० वर्षसम्म काम गरे । बुबाको कार्यकाल लिलाका लागि पञ्चायत चिहाउने आँखिझ्याल बन्यो । जुन पञ्चायत हैकमवादी थियो, निरंकुश थियो अनि शक्तिशालीहरूको मनमौजी थियो । फरक विचार र सिद्धान्तलाई स्वीकार्ने/नस्वीकार्ने पञ्चायत लिलाको लागि पनि स्वीकार्य भएन ।

उनी राजनीतिमै लाग्न चाहिन् । तर बुबा सहमत भएको जस्तो फरक विचार र सिद्धान्तलाई अस्वीकार गर्ने होइन, सबैका मत सुन्ने, गुन्ने र उत्तमलाई चुन्ने सिद्धान्त उनलाई ठिक लाग्यो । उनी कांग्रेसमा आवद्ध भइन् । त्यो बेला बुबा प्रधानपञ्च नै थिए ।

देशको शासन व्यवस्था घरभित्रै देखेकी लिला ३८, ३९ सालतिरै कांग्रेसमा आवद्ध भए पनि सानै उमेरका कारण धेरै सक्रिय भने थिइनन् । पञ्चायतकाल भएकैले पनि केही असहजताहरू थिए ।

तैपनि उनले पञ्चायती व्यवस्थाविरुद्ध सकेसम्म लागिन् । प्रजातन्त्रको पुनःस्थापना पछि भने लिलाको सक्रियता पनि बढेर गयो । त्यसपछि उनले आफ्नो गाउँ ताप्लेजुङको कुञ्जारीबाट सदरमुकाम आइन् र राजनीति थालिन् ।

सदरमुकाममा धेरै मान्छेहरू प्रसाशन वा प्रहरी कार्यलयको काम लिएर आउँथे । ‘कोही छोरी भन्दै आउथे, कोही दिदी बहिनी भन्दै‚’ उनले भनिन्‚ ‘राजनीति भनेको त समाज सेवा पनि हो भन्ने बुझेकी थिएँ । म सबैको काममा सहजीकरण गरिदिन्थे ।’

उनी ताप्लेजुङ सदरमुकाम फुङलिङ्गमै नियमित बस्न थालिन् । त्यही क्रममा उनले गैह्रसरकारी संस्था ‘महिला उद्यमी संघ’स्थापना गरिन् । महिलाको सीप र क्षमता बढाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलेको यो संस्था मार्फत उनी ताप्लेजुङका विभिन्न ठाउँमा पुगिन् । ती यात्रामा उनले महिलाका दुःख देखिन्, समस्याहरू सुनिन् अनि पीडाहरू अनुभव गरिन् । ती दुःख, पीडा र समस्याले उनलाई बेस्सरी छोएन मात्र, सँगसँगै अठोट पनि गरायो । ‘महिलाले अब यस्तो दुःख सहेर बस्नु हुँदैन र त्यसका लागि म अगुवा बन्छु‚’ भन्ने अठोट लिएर अघि बढेको उनी बताउँछिन् ।

त्यहि अठोटका साथ अघि बढ्ने क्रममा लिलाले नेपाली कांग्रेसको राजनीतिमा झण्डै चालिस वर्ष बिताएकी छन् । जिल्ला सभापतिका रुपमा खासै महिलाहरूले आँटै नगर्दा वा गर्दा पनि बन्न नसकिरहेका बेला उनी ताप्लेजुङको जिल्ला सभापति बनिन् । अहिले कांग्रेसको १४औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा दावेदारी प्रस्तुत गर्ने तयारीमा छिन् ।

‘मेरो उम्मेदवारी व्यक्तिगत आत्मविश्वास र सम्पूर्ण महिलालाई प्रेरणा दिन पनि हो ।’ लिला भन्छिन्‚ ‘किनभने नेतृत्व विकास गर्नुपर्नेछ । नेतृत्व विकास निरन्तर लडेर गर्नुपर्छ । जित-हारको नाफाघाटामा अल्झिएर मात्र हुँदैन ।’

लिलाको बुझाइमा मान्छेले कोसिस गर्न छाड्नु हुँदैन । जित-हारको हिसाबमात्र पनि होइन । लिलाको जीवनमा पनि जित र हारका, सफलता र असफलताका प्रशस्तै कथाहरू छन् । ‘प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । त्यहि प्रतिस्पर्धाबाटै १३औँ महाधिवेशनमा ताप्लेजुङको कांग्रेस जिल्ला सभापतिमा विजयी भएँ, त्योभन्दा पहिले म महिला संघको केन्द्रीय सदस्य भएकी थिएँ । अबको लक्ष्य पार्टीको केन्द्रीय सदस्य हो‚’ उनले सुनाइन् ।

संविधान सभाको दोस्रो निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेकी उनी १३९ मतले पराजित भइन् ।

यो हारले उनलाई निराश बनाएन । २०७४ सालको निर्वाचनमा पार्टीले लिलालाई प्रदेशको टिकट दियो । धेरै शुभेच्छुक र आफन्तले चुनाव नलड्नू भन्ने सल्लाह दिए । कारण– त्यो चुनावमा देशको दोस्रो र तेस्रो दल क्रमशः माओवादी र एमाले एक भएर चुनाव लड्दै थिए । माहौल कम्युनिस्टमय थियो । तर उनले खुट्टा कमाइनन् । यस्तो बेला आफूलाई कांग्रेसको सिद्धान्तले बढी झक्झक्याएको लिला बताउँछिन् ।

‘कांग्रेस प्रतिस्पर्धामा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो‚’ उनले भनिन्‚ ‘म त्यहि लोकतान्त्रिक मूल्य/मान्यतामा विश्वास गर्ने मान्छे । कम्युनिस्टको माहौल छ भनेर प्रतिस्पर्धाबाटै भाग्नु मैले बुझेको‚ पढेको र अपनाएको राजनीतिभन्दा फरक हुने थियो, र म सिद्धान्तबाट भाग्न राजनीतिमा लागेकी थिइनँ‚’ उनी प्रतिबद्ध सुनिइन् ।

केन्द्रीय सदस्यमा उम्मेदवार बन्दै गर्दा कांग्रेसमा बसेर कांग्रेसकै लागि लिलाका केही सपनाहरू छन् । यस्तोबेला उनलाई विपीको सिद्धान्त र विवेक दुवैले घच्घच्याइरहन्छ । १५ सालको निर्वाचनमा निर्वाचित एक मात्र महिला सांसद द्वारिकादेवी ठाकुरानीलाई विपीले राज्यमन्त्री बनाएका थिए । बैतडीबाट निर्वाचित द्वारिकादेवीलाई मन्त्री बनाउनुको उद्देश्य राजनीतिमा महिलाको आत्मविश्वास बढाउनु थियो ।

‘म निरन्तर प्रतिस्पर्धामा छु, मेरो प्रतिस्पर्धाले धेरै महिलालाई संघर्ष गर्न ऊर्जा दिनेछ भन्ने विश्वास छ‚’ लिलाले भनिन् ।

विपी किसानका कुरा गर्थे । उनी माटोका कुरा गर्थे । गरिबी उन्मूलन र विकासका कुरा गर्थे । लिलाले गरिबीसँग साक्षात्कार गरेकी छन् । किसानका दुःख र समस्या बुझेकी छन् । गाउँका दुःख र अवसर दुवैलाई उनले नजिकैबाट नियालेकी छन् ।

यी दुःख र समस्या सुनेर वा बुझेरमात्र हुँदैन भन्ने लाग्छ लिलालाई । भन्छिन्‚ ‘गरिबी अन्त्य, गाउँको विकास, महिलाको सहभागिता र क्षमता विस्तारजस्ता कुरा नीति निर्माणको तहबाट मात्र गर्न सकिन्छ । म चार दशकको मेरो अनुभव र बुझाईलाई बीपीले भन्नुभएजस्तै गाउँ पुग्ने कांग्रेस‚ गाउँ सम्झने कांग्रेस र गाउँ बुझ्ने कांग्रेस बनाउन चाहन्छु । त्यसका लागि योगदान दिन चाहन्छु । म कांग्रेसको केन्द्र र गाउँ जोड्ने सेतु हुन चाहन्छु ।

केन्द्रमा नेपाली कांग्रेसको ताप्लेजुङ्गको खासै उपस्थिति छैन। त्यसमाथि महिलाको त झन् छँदै छैन। सिंगो कांग्रेस र ताप्लेजुङ्गमा अझ प्रभावकारी कांग्रेस खोज्न लिलालाई जिताउनु पर्ने महाधिवेशन प्रतिनिधि नै बताउछन्। त्यतिमात्र होइन चीन र भारत संगको सन्तुलित कुटनिती कायम राख्न पनि ताप्लेजुङ्गले नेपाली कांग्रेसको केन्द्रमा प्रतिनिधित्व पाउनु पर्छ। जसका लागी लिला बोखिम बाहेकको विकल्प नरहेको कांगेसको विदेश मामिलाका एक सदस्यले बताए।