चौधरीलाई पछार्दै नाडाको अध्यक्षमा थापा निर्वाचित, अरू को-को भए निर्वाचित ?

  • प्रकाशित मिति : २०७८ मंसिर २४, शुक्रबार
  • chhanbin.com

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन्। नाडाको ४५औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट उनी अध्यक्षमा चयन भएका हुन्।

बिहीबार राति अबेर सम्पन्न मतगणनाअनुसार फोर्स मोटरका अधिकृत बिक्रेता पोखराका व्यवसायी थापा करण चौधरीलाई पराजित गर्दै नाडा अध्यक्षमा विजयी भएका छन्।

थापाले मारुती सुजुकीको अधिकृत बिक्रेता सीजी मोटोकर्पका करण चौधरीलाई ६६ मतले पराजित गरेको नाडा निर्वाचन समितिले जनाएको छ। विजयीथापाले १४ सय १३ मत ल्याउ भने चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरे।

अध्यक्षमा पराजित भए पनि कार्यसमिति सदस्यमा भने बहुमत सदस्य चौधरी पक्षबाट विजयी भएका छन्। चौधरीको प्यानलबाट मिलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंघानिया, निलमणि पाठक र वरदान बस्नेत विजयी भएका छन्।

ध्रुव थापाको प्यानलबाट भने निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन्।

नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो।