महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै गगनले भने- कुर्सीका लागि गन्-गन् गर्न मात्र मेरो उम्मेद्वारी होइन

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी गगनकुमार थापाले आफ्नो बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्।

महाधिवेशन सुरु हुने अघिल्लो दिन अवधारणापत्र सार्वजनिक गर्दै थापाले कांग्रेस पार्टीको सदस्यता लिएको ३० वर्ष भएको भन्दै कांग्रेसको झन्डा बोकेर घरमा आउने कार्यकर्ताका कारण बाल्यकालमै मस्तिष्कमा कांग्रेसको छाप परेको बताए। पछि बुझ्ने भएपछि कांग्रेस सदस्य भएकोमा आफूलाई गौरव लागेको उनले सुनाए।

आफू विशाल रुखको छहारीमुनि बसेको अनुभव भइरहेको र जय नेपाल भन्ने भीडको बीचमा बसेको अनुभूति हुने भन्दै थापाले त्यो जय नेपाल भन्ने भीडमा टोपी लगाउने र धोती लगाउने सबै सबै अटाएको बताए।

थापाले पार्टीमा क्रियाशील भएर यसमार्फत जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताए। जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने उनको भनाइ थियो।

उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु–हुन्न थाहा छैन। पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुंगिन्छ त्यो पनि मलाई थाहा छैन। जहाँ गएर टुंगियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु। १०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरूलाई लिएर काठमाडौं या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस्। मलाई यति मात्र भए पुग्छ। त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ।’

काम गर्नका लागि आफू नेपाली कांग्रेसको महामन्त्री हुन लागेको थापाले बताए। जात र धर्मका नाममा लडाइँ गरेर राजनीति हुने गरेको भन्दै उनले आपत्ति पनि जनाए। आफूले महामन्त्रीमा जिते संविधान कुल्चिएर हुने दर्घटना रोक्ने गगनको भनाइ थियो।

उनले भने, ‘कांग्रेस महामन्त्रीको कुर्सी बस्न र गनगन गर्नका लागि मात्रै होइन। गुनासो गर्ने मात्रै होइन, कांग्रेसको वैचारिक लाइन प्रस्ताव गर्ने हो। हाम्रो कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली होइन, समुन्नत नेपाल सम्मानित नेपाली हुनुपर्छ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै थापाले भने, ‘समृद्ध नेपाल भनेको चुच्चे रेल, भ्युटावर हो र ? रेलमा चढ्ने मान्छेको अत्तोपत्तो छैन। भ्युटावर धेरै अग्लो भयो, तलका मान्छेले देख्दैनन्।’

सम्बोधनका क्रममा थापाले कांग्रेस भएकै कारण कोही डराउनु पर्दैन भन्ने भरोसा दिनुपर्ने बताए। त्यसका लागि कांग्रेसले जित्नुपर्नेमा उनको जोड थियो। ‘कांग्रेस जनताका लागि हो। कांग्रेसले नजिते जनताले के गुमाउँछन् भन्ने बुझाउन सक्नुपर्छ हामीले। कांग्रेसको एउटैमात्र काम रहेछ चुनाव जित्ने भन्न सक्छन्। त्यो शंका निवारणका लागि योजना चाहिन्छ, सपना चाहिन्छ,’ उनले भने।