यसरी बनाउँदैछन् देउवाले आफ्नो टीम, को-को छन् हर्ताकर्ता ?

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको टिम निर्माणको जिम्मा तल्लो तहका नेताहरुलाई दिएका छन्। सभापति देउवाले बुधबार बूढानीलकण्ठमा बसेको बैठकमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि टिम निर्माणको जिम्मा तल्लो तहका नेताहरुलाई दिएका हुन्।

सभापतिमा संस्थापन पक्षबाट देउवा निर्विकल्प देखिए पनि अन्य पदाधिकारीको टुंगो लगाउन भने देउवालाई सजिलो छैन। सभापति देउवाले संस्थापन इतर समूहको टिम निर्माणको अवस्थालाई हेरेर आफ्नो टिम टुंग्याउने रणनीति लिएको देउवा समूहका एक नेताले जानकारी दिए। भने, ‘संस्थापन इतर समूहको टिम निर्माण कसरी हुन्छ, त्यसपछि हाम्रो समूहको टिमको टुंगो लगाउने सभापतिज्यूको रणनीति छ।’

यसबीचमा आन्तरिक छलफलका लागि प्रदेशहरुबाट सहमति गरेर ल्याउनका लागि पनि नेताहरुलाई देउवाले जिम्मेवारी दिएको ती नेताले बताए। उनले भने, ‘सभापतिज्यूले २४ गतेसम्ममा विभिन्‍न क्लस्टरबाट पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका उम्मेदवारको सूची तयार गर्न नेताहरूलाई जिम्मेवारी दिनुभएको छ। ती नेताहरुले आफ्नो प्रदेशबाट केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका आकांक्षीहरुसँग छलफल गरेर नाम टुंग्याउनु हुनेछ।’

सभापति देउवाले प्रदेश १ मा ज्ञानेन्द्र कार्की, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा सहमहामन्त्री डा. प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही तथा सुदूरपश्चिममा एनपी साउदलाई जिम्मेवारी दिएका छन्।

उनीहरुले आ-आफ्नो प्रदेशबाट सबै क्लस्टरहरुसहितका उम्मेदवारका नामको सूची तयार गरेर सभापतिलाई बुझाउने छन्। त्यसपछि सभापतिसहितका पदाधिकारीका आकांक्षीहरु बसेर संस्थापन इतर समूहको टिमको खाका हेर्दै आफ्नो समूहको अन्तिम नाम टुंगो लगाउने देउवाको रणनीति छ।

जिम्मेवारी पाएलगत्तै नेताहरुले छुट्टाछुट्टै छलफल बुधबार बेलुकादेखि नै थालिसकेका छन्। लुम्बिनी प्रदेशको जिम्मेवारी पाएका खाणले बुधबार बेलुका आफ्नो प्रदेशका नेताहरुसँग छलफल गरेका थिए। त्यसैगरी सुदूरपश्‍चिम प्रदेशका नेताहरुबीच बिहीबार बिहान छलफल भएको छ। प्रदेश १, २, बागमती, गण्डकी र कर्णाली प्रदेशका नेताहरुले पनि छलफल गरिरहेका छन्।

सभापतिमा संस्थापन पक्षबाट देउवा निर्विकल्प देखिए पनि अन्य पदाधिकारीको टुंगो लगाउन भने देउवालाई सजिलो छैन।
देउवा समूहकै महामन्त्रीका दाबेदार एक नेताले भने, ‘हामीलाई छलफलका लागि समय दिनुभएको छ। हामीले छलफल गरेर सूची तयार गरेर सभापतिज्यूलाई बुझाउँछौं। सभापतिज्यूले पनि सम्भावित उम्मेदवारको नाम त आफ्नो जानकारीमा राख्नुभएकै छ। ढिलोमा शुक्रबारसम्म टिम घोषणा हुन्छ होला।’

कृष्णप्रसाद सिटौला समूह वा अन्य कुनै समूहसँग समीकरणको सम्भावना रहेकोले त्यसलाई पनि मध्यनजर गर्दै सभापति देउवाले बलियो टिम तयार गर्ने उनले दाबी गरे। उनले ठट्टा गर्दै भने, ‘एक रन, दुई रन गर्ने कुरै छैन। बलियो टिम बनाउने, एकैपटक छक्का हान्‍ने र गेम ओभर गर्ने हो।’ पहिलो चरणमा नै जित निश्‍चित हुने गरी टिम बन्‍ने उनको आशय थियो।

देउवा समूहबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा दाबी गरेका छन्। त्यस्तै, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउद र विश्‍वप्रकाश शर्माले दाबी गरिरहेका छन्। सहमहामन्त्रीतर्फ महिला क्लस्टरबाट डिना उपाध्याय, पार्वता डिसी चौधरी, पुष्पा भुसाल र अम्बिका बस्नेत, दलित कोटाबाट मानबहादुर विश्वकर्मा, मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर, खस–आर्य क्लस्टरबाट किशोर सिंह राठौर, मोहन बस्नेत र सुनील थापा, थारू क्लस्टरबाट रामजनम चौधरी, मधेसीतर्फबाट महेन्द्र यादव र अजय चौरसियाले दाबी गरेका थिए।

नेपाली कांग्रेसले २४ गते बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गर्ने, २५ मंसिर बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध र जाँचबुझ, बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय, बेलुका ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

२६ मंसिर बिहान ११ सम्म मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने र दिउँसो १२:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। त्यसैगरी २७ मंसिर बिहान ८ बजेबाट राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान हुने कार्यक्रम रहेको छ।