बाेहोराटार पुगेर शेखरले भने प्रकाशमानलाई ब्याक गराउनुहोस् म तपाईलाई समर्थन गर्छु

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता ‍शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकाशमान सिंहलाई मनाउन सफल भए आफ्नो समर्थन पनि पौडेललाई रहने बताएका छन् ।

बाेहोराटारस्थित पौडेल निवासमा पुगेर उनले सिंहले दाबेदारी छोडेको अवस्थामा पौडेललाई साझा उम्मेदवार बनाउन तयार रहेको बताएका हुन् ।

‘तपाईँ सबैको साझा उम्मेदवार बन्नका निम्ति प्रकाशमानजीलाई मनाउनुस् । उहाँले मानेको अवस्थामा मेरो समर्थन तपाईँलाई नै रहनेछ,’ कोइरालाले पौडेललाई भनेका छन् ।

सिंहले दाबेदारी नछोडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेललाई आग्रह गरेका छन् । ‘सिंहले छाड्नुभएन भने तपाईँ मलाई सहयोग गर्नुस्,’ उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेल पक्ष मंगलबार देखि सहमतिको साझा उम्मेदवार बनाउन दौडधुपमा छ । नेताहरूले चयन गर्न नसकेमा मतदानमार्फत भए पनि टुंगो लगाइने युवा नेताहरूले बताइरहेका छन् ।

बुधबार साँझको बैठकमा पौडेलले भावुक हुँदै आफूलाई नमान्ने हो भने पार्टीको जिम्मेवारीबाट अलग रहने बताएका थिए ।