नेप्सेमा सूचीकृत चार कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक, समता घरेलु लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
चार वटै कम्पनीले साधरणसभा प्रयोजनका लागि मंसिर २४ देखि २६ गतेसम्म बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस ८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, समता घरेलु लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश पारित गर्न पुस ७ गते साधरण सभा बोलाएको छ । कम्पनीको सभा मेरिबेल रिसोर्ट, धुलिखेलमा हुनेछ ।
त्यसैगरी, नेरुडे लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २२.६१ प्रतिशत लाभांश पारित गर्न पुस १० गते साधरण सभा बोलाएको छ ।
त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको ५.२६ प्रतिशत लाभांश पारित गर्न पुस ११ गते चौथौं साधरण सभा डाकेको छ । रिलायन्सको सभा अनमोल ब्यांक्वेट, शंखमुल काठमाडौंमा हुनेछ ।
चार वटै कम्पनीको प्रस्तावित लाभांश वार्षिक साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।