माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् अजेण्डा

  • प्रकाशित मिति : २०७८ मंसिर २३, बिहीबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइको हो ।

माओवादी केन्द्र कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आज बस्ने स्थायी समितिको बैठक राष्ट्रिय सम्मेलन केन्द्रित हुने छ । यसअघि पनि राष्ट्रिय सम्मेलनबारे स्थायी समितिमा दुई पटक छलफल भएर विभिन्न निर्णय समेत भएका थिए ।

वडा र पालिका सम्मेलन गरिसकेको माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ । यतिबेला माओवादी केन्द्र आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा गर्ने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।

राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । प्रचण्ड राजनीतिक भेटघाटलाई समेत कम गर्दै प्रतिवेदनमा समेट्ने विषयबारे पार्टी नेताहरूसँग समेत परामर्शमा रहेको उनी निकट नेताहरू बताउँछन् ।