प्रकाशमान र शेखरले सभापति एक अर्कालाई दिंदै नदिने, भोली फेरि बस्ने नमिले पौडेलले सन्यास लिने

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहमा मिल्ने सम्भावना कम हुँदै गएको छ। बुधबार दिउँसो देखि प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको यो समूहको बैठकमा सभापतिका आकांक्षी नेताहरुले अडान नछाडेपछि मिल्ने सम्भावना क्षीण हुँदै गएको हो।

पौडेल समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुटेको छैन । चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरू साझा उम्मेदवार तयार गर्न नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन नसकेको हो । नेताहरू बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

बैठकमा सहभागी एकजना नेता डा. रामशरण महतले सभापतिका दुई दाबेदार प्रकाशमान सिंह र शेखर कोइरालाबीच मिल्ने सम्भावना नरहेको बताएका हुन्। उनका अनुसार सभापतिका एक दाबेदार शशांक कोइराला पछि हटे पनि पौडेल, कोइराला र सिंह आफू आफू लड्ने मनस्थितिमा यथावत छन्।

‘आजसम्मको अवस्था हेर्दा मिल्ने अवस्था देखिएन’, उनले भने, ‘प्रकाशमान सिंह र शेखर कोइराला दुवै एकअर्कालाई स्वीकार्ने बिन्दुमा पुगेनन्। यदि मिल्ने अवस्था नभएमा वरिष्ठ नेता पौडेलले राजनीतिबाट नै विश्राम लिने भन्नुभएको छ।’

केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । पौडेल र कोइरालाहरूले भने छलफल गरेर अघि बढ्न सकिने भनेका छन् ।

नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्थासमेत बनेको थियो । नेता घिमिरेले आकांक्षीहरू बाहेकका केन्द्रीय सदस्यहरू विहीबार विहान छलफलमा बस्ने, त्यो छलफलको निर्णयअनुसार नेताहरूलाई सुझाव दिने, र नेताहरूले निर्णय लिने सहमति भएको बताए ।

अर्का नेता अर्जुननरसिंह केसीले पनि अझैसम्म कुरा नमिलेको बताएका छन्। उनका अनुसार केही प्राविधिक, केही राजनीतिक र केही समायोजनका कुरामा अड्किएको छ। यिनै कुरालाई ध्यानमा राखेर बिहीबार पनि छलफल हुने केसीले बताएका छन्। उनले बिहीबार पनि छलफल गरेर केही न केही निचोडमा पुग्ने बताए।