निधिले समेत समर्थन गर्ने गरि प्रकाशमानलाई उम्मेद्वार बनाउन चाक्सीबारीमा बैठक जारी

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन दुईदिन बाँकी रहँदा नेताहरुको दौडधुप बढेको छ।

पदाधिकारीमा उम्मेद्वार को हुने ? आफ्नो पक्षको रणनीति के हुने ? लगायतका विषयमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेले पक्षका नेताहरुबिच छुट्टा छुट्टै छलफल भइरहेका छन्।

देउवा फेरि सभापति पदका लागि लड्न निश्चित छ। उपसभापति विमलेन्द्र निधिले महिनौं अघि सभापतिका लागि दाबी गरिसकेका छन्। तर, पछिल्ला दिनमा भने उनी पछि हट्न थालेको कांग्रेसका नेताहरुले बताएका छन्।

संस्थापन समूहको राजनीतिक भेटघाट तथा छलफलहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र निजी निवास बुढानीलकण्ठमा केन्द्रित छन्। देउवा कसरी अगाडि बढ्छन् भन्ने रणनीति उनी इतरका नेताहरुले पर्खिरहेका छन्।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पनि पछिल्लो समय राजनीतिको केन्द्रमा पर्न थालेको छ। देउवा इतरका नेताहरुको जमघट अहिले हरेक दिनजसो सिंहको निवासमा हुन थालेको छ। यद्यपि, चाक्सीबारी भेलाले परिणाम दिन सकेको छैन।

मंगलवार पनि पौडेल पक्षका नेताहरुले आफ्नो समूहबाट सभापतिको साझा उम्मेद्वार छनोट गर्ने प्रयास गरेका थिए। तर, सभापतिका आकांक्षी शशांक कोइराला बाहेकका नेता सिंह, शेखर कोइराला र पौडेल पछि नहटेपछि चाक्सीबारी भेला टुंगोमा पुग्न सकेन।

आज पनि देउवा इतरका नेताहरु ३ बजे देखि चाक्सीबारीमा देउवा संग को भिड्ने भन्नेमै छन् । बैठकले साझा उम्मेद्वारको टुंगो लगाउने कांग्रेस नेताहरुको भनाइ छ। बिहान अनुपम फुडल्याण्डमा बसेको बैठकले प्रकाशमानसिंह र शेखर कोइरालालाई मिल्न दुई घण्टाको अल्टिमेटम दिएको थियो।

शशांक कोइरालाले भने रामचन्द्र पौडेलका लागि भन्दै आफूले सभापतिको दाबी छोडेको बताएका छन्। चाक्सीबारीमा पछिल्लो समय शेखर कोइराला, विमलेन्द्र निधि र सिंहबिच छलफल हुदै आएको थियो। तर, उनीहरुको छलफललले पनि सहमति जुटाउन सकेन।

नेपाली कांग्रेसका नेताहरुले २०४६ सालको आन्दोलनमा जस्तै अहिले पनि सिंह निवास राजनीतिको केन्द्र बन्न थालेको बताइरहेका छन्। २०४६ सालको आन्दोलनको पृष्ठभूमि त्यतिबेला कांग्रेसका नेता गणेशमान सिंहको निवास बनेको थियो।

गणेशमानका छोरा प्रकाशमान पार्टीमा नयाँ अनुहार आउनु पर्ने भन्दै देउवाको विरोधमा खुलेर लागेका छन्। उनी पनि लिगेसीको राजनीतिमै अघि बढिरहेका छन्। यता, प्रकाशमान सभापतिका साझा उम्मेद्वार बने निधिले समेत समर्थन गर्ने कांग्रेस वृतमा चर्चा छ।