चाक्सीबारीमा चार नेताको मात्र चल्न थाल्यो गन्थन, साझा सभापति छान्न कसरी गरिदैछ मन्थन ?

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

आफूमध्येबाट सभापतिको साझा उम्मेद्वार तय गर्न कांग्रेसका चार नेता मात्रै छलफलमा जुटेका छन्। सभापतिमा शेरबहादुर देउवाविरुद्ध लड्न संस्थापन इतर पक्षबाट एक जना मात्रै उम्मेद्वार बनाउन रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सशांक कोइराला र शेखर कोइराला गोप्य छलफलमा बसेका हुन्।

शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाविधेशनमा देउवासँग प्रतिस्पर्धा गर्न इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन खोजे पनि सकेका छैनन्।

मंगलबार बसेको बैठकमा सभापतिका आकांक्षी सशांक कोइराला रामचन्द्र पौडेलललाई उम्मेदवार बनाउने शर्तमा पछि हटे पनि प्रकाशमान सिंह र डा. शेखर कोइरालाले दाबी छाडेका छैनन्।

बुधबार फेरि चाक्सीबारीमा बसेको अरु नेतासहितको बैठकमा कुरा नमिलेपछि आकांक्षी चारजनालाई मात्रै छलफल गरेर निष्कर्ष पुग्न दबाब परेको हो।

बुधबार बिहान बत्तीसपुतलस्थित एक पार्टी प्यालेसमा जम्मा भएर संस्थापन इतर समूहका केन्द्रीय सदस्य, सांसद, प्रदेशसभाका अध्यक्ष, जिल्ला सभापतिको भेलाले एकल उम्मेद्वार छान्न दबाब दिएको थियो।

बिहानको छलफलपछि चाक्सीबारीमा सभापतिका चार जना आकांक्षी फेरि छलफलमा जुटेका हुन्। पौडेल पक्षले जसरी पनि देउवाविरुद्ध एउटा मात्रै उम्मेद्वार बनाउने प्रतिबद्धता जनाएको छ।