केपी ओलीले त्यति त खाईदिनु होस् भनेपनि मैले मानिन भन्दै भीम रावलले खोले यस्तो पोल

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको लागि भएको प्रतिस्पर्धामा पराजित भएका भीम रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले सदस्यको शपथ लिन भनेको बताएका छन्। बुधबार साँफेबगरमा आयोजित एक कार्यक्रममा उनले त्यसअघि उपाध्यक्ष बन्न भनेको पनि बताएका छन्।

आफ्नो लागि पद ठूलो विषय नभएको भन्दै उनले भने, ‘चितवनको मञ्चमा बसिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले मलाई भन्नुभएको थियो- तपाईं उपाध्यक्ष भइदिनुस् कृपया।‘

रावलले ओलीलाई ‘तपाईं र म स्वच्छ प्रतिस्पर्धा गरौं’ भनेको बताए। ‘म अध्यक्षमा लड्छु, टीका लगाएर उपाध्यक्ष हुने मान्छे होइन’, ओलीलाई दिएको जवाफ उनले सुनाएका थिए। सदस्यको शपथ ग्रहण कार्यक्रममा पनि ओलीले आफूलाई सदस्यमा शपथ लिन भनेको बताएका छन्। ‘केन्द्रीय सदस्यको शपथ हुँदै थियो। मलाई फेरि केपी शर्मा ओलीज्यूले भन्नुभयो- उपाध्यक्ष त तपाईंले मान्नुभएन। सदस्य मानिदिनुस् न। शपथ त लिनुस् न‘, उनले भने।

त्यतिबेला आफूले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगरेको र अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको व्यक्ति सदस्य नहुने जवाफ दिएको रावलको भनाइ छ।
रावल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। ओलीले १८३७ मत ल्याएर विजयी हुँदा रावलले भने २२३ मत मात्रै पाएका थिए।

मंसिर १४ गते बिहान भएको निर्वाचनमा मत दिएपछि रावलले आफ्नो उम्मेदवारी अध्यक्षको लागि मात्रै भएको भन्दै सदस्यमा विजयी भए पनि शपथ नलिने बताएका थिए। सोही दिन साँझ एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले मत परिणाम सुनाउँदा रावललाई सदस्यमा विजयी भनेका थिए। सदस्यका लागि उनले ९०४ मत पाएका थिए।

सुब्बाले भनेका थिए- ‘भीम बहादुर रावल- ९०४ विजयी। उहाँले भर्खरै मलाई अर्थात् आयोगलाई मेरो उम्मेदवारी पार्टी अध्यक्षका लागि मात्रै थियो, केन्द्रीय कमिटीको सदस्यको लागि होइन भन्नुभएको छ। यद्यपि मैले निर्वाचन कार्यक्रम सुरु हुनुभन्दा अगाडि पुरानै प्रचलन अनुसार जजसले पार्टीको केन्द्रीय पदाधिकारीको लागि उम्मेदवारी दिनुहुन्छ, उहाँहरुको पार्टी केन्द्रीय कमिटी सदस्यको लागि पनि स्वतः उम्मेदवारी हुन्छ भनेको थिएँ। तर उहाँले अहिले त्यसो भन्नुभएको व्यहोरा यहाँ हाउसमा जानकारी गराउन चाहन्छु।’

लगत्तै भएको शपथ ग्रहण कार्यक्रममा रावल सहभागी भएनन्। पहिल्यैदेखि बसिरहेको कुर्सीमा बसिरहेका थिए। अन्य सदस्यले भने शपथ खाएका थिए। त्यसो त, उनी विजय भएको हो वा होइन भन्ने विषय नै अन्यौल थियो।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा भने रावल पराजित भएको उल्लेख छ। अर्को प्रसंगमा रावलले निर्वाचनमा उठेपछि जितहार स्वभाविक हुने बताए। ‘महाधिवेशनमा मैले देशभक्तिको झन्डा उठाएको थिएँ। हाम्रो पार्टीको विधि पद्धति र प्रणाली रक्षाको आवाज उठाएको थिएँ। म अर्थमा मैले जितेको छु। हारेको छैन’, उनले भने।

निर्वाचनमा जोसुकै पनि हार्न सक्ने उनको भनाइ छ। ‘पदमा को हारेको छैन? आठौं महाधिवेशनमा केपी शर्मा ओली र मैले सँगै हारेका हौँ नि। अरु थुप्रै नेताहरुले पनि चुनाव हार्नुभएको छ। मान्छे त्यतिबेला हार्छ, जतिबेला उसको देशभक्ति डगमगाउँछ। पार्टीका प्रक्रिया मान्ने मान्यताहरु डगमगाउँछन्। पार्टी र जनताको हितभन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई माथि राख्छ। गुटको स्वार्थलाई राख्छ। त्यतिबेला मान्छेले पदमा जितेर पनि पराजित हुन्छ’, उनले भने।