देउवाले भागबण्डा मिलाउन तोके कमान्डर, यसरी मिलाए तालमेल

  • प्रकाशित मिति : २०७८ मंसिर २२, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको संस्थापन समूहले केन्द्रीय सदस्यको उम्मेदवार चयन गर्न कमान्डर तोकेको छ। बुधबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको समूहको बैठकले केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न कमान्डर तोकेको हो।

बैठकले केन्द्रीय सदस्यका उम्मेदवार तय गर्न सातै प्रदेशका संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय गरेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए।

प्रदेश १ बाट ज्ञानेन्द्र कार्की, प्रदेश २ बाट रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जिम्मेवारी दिइएको छ। देउवाले क्लस्टरअनुसार नाम बढी नहुने गरी उम्मेदवार चयन गर्न निर्देशन दिएको ती नेताले बताए।

सिटौलालाई मिलाउन सुझाव

बैठकमा सहभागी नेताहरूले आसन्न महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलालाई जसरी पनि मिलाउन सुझाव दिएका छन्।

महाधिवेशनमा चुनाव जित्न सिटौलाको साथ अपरिहार्य रहेको भन्दै उनीहरूले जसरी पनि मिलाउन सुझाव दिएका हुन्।

‘महाधिवेशनमा चुनाव जित्न कृष्णप्रसाद सिटौला समूहको जसरी पनि साथ चाहिन्छ हामीले भनेका छौं,’ ती नेताले भने,‘’उदारता देखाएर पनि मिलाउनुपर्छ भन्ने अधिकांश नेताहरूको सुझाव रह्यो।’

कुन नेताको दाबी कुन पदमा?

बैठकमा बोल्ने क्रममा नेताहरूले आ–आफ्ना दाबी प्रस्तुत गरेका छन्। बैठकमा सहभागी ती नेताकाअनुसार बालकृष्ण खाँण, प्रकाशशरण महत र विश्वप्रकाश शर्माले महामन्त्रीका लागि दाबी गरेका छन्।

सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको पनि महामन्त्रीमा दाबी छ।

त्यसैगरी विजयकुमार गच्छदारले उपसभापतिमा दाबी गरेका छन्। कांग्रेस विधानअनुसार दुईजना उपसभापति हुने व्यवस्था छ। अर्का एकजना उपसभापतिमा इतर समूहका नेतालाई व्यवस्थापन गर्ने रणनीति देउवा समूहको छ।

‘बैठकमा विजय गच्छदारले उपसभापति पदका लागि दाबी गर्नुभएको छ। अर्को एक पदका लागि हामी खुला छौं,’ देउवानिकट ती नेताले भने,‘इतर समूहसँग सहमति जुटे त्यहाँ मिलाउन सकिन्छ।’

महिला सहमहामन्त्रीका लागि डिना उपाध्याय, पार्वती डिसी र अम्बिका बस्नेतले दाबेदारी प्रस्तुत गरेका छन्।

किशोरसिंह राठौरले खस आर्य समूहबाट सहमहामन्त्रीमा दाबी गरेका छन्। दलित कोटाबाट मानबहादुर विश्वकर्मा, मुस्लिम कोटाबाट कमाल मुसलमान र फरमुल्लाह मन्सुर, थारू समूहबाट रामजनम चौधरी, महेन्द्र यादव र अजय चौरसियाले मधेशी कोटाबाट सहमहामन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्।

वर्तमान सहमहामन्त्री सुनिल थापाले पनि सहमहामन्त्री पदकै लागि दाबी गरेका छन्। यसैगरी रमेश लेखकले सभापतिबाहेक सबै पदमा आफ्नो दाबी रहेको बताएका थिए।