एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले उनीमाथि करिब ६ अर्बको मुद्दा समेत दायर गरिसकेको छ ।
दुई महिना लामो अनुसन्धानमा तामाङले अरबौं रकम लुकाएको तथा नेता र नायिकालाई बाँडेको भेटिएको छ । सिभिल सहकारीबाट करिब आठ अर्ब ऋण लिएर उनले हाउजिङमा लगानी गरेका थिए । करिब २० प्रतिशत नाफामा ती हाउजीङ बिक्रि गरे । त्यसरी नाफा कमाउँदा पनि सहकारीको ऋण भने तिरेनन्, कमाएको पैसा पनि लुकाए । जसले गर्दा उनको नियत नै ठगी रहेको देखिन्छ ।
२०७४ सालदेखि नै सो सहकारीले सर्वसाधरणको निक्षेप फिर्ता दिन सकेको छैन । त्यतिबेला राजनीतिक संरक्षण नभएको भए तत्कालै पीडितहरुले पैसा पाउने अवस्था हुन्थ्यो । तर, ओली प्रधानमन्त्री बनेपछि तामाङमाथि सहकारी विभाग तथा प्रहरीले कारबाही गर्न सकेन । जसकारण १५ सय भन्दा धेरै पीडितको बिचल्ली भएको हो ।
यसरी ठगेको रकम नायिका तथा मोडलहरुलाई खर्च गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ । ‘एउटा मोडललाई ५० लाखसम्म उनले दिएको देखियो,’ अनुसन्धानमा आबद्ध एक अधिकारी भन्छन्,‘घर बेचेको कतिपय रकम नेताहरुलाई दिएको, केही नेताहरुलाई घर नै दिएको समेत पाइएको छ ।’ बैंक खाताबाटै नायिका तथा मोडलहरुको नाममा पैसा गएकाले छानबिनबाट त्यो खुलेको हो ।
पक्राउ परेपछि पनि उन्मुक्तिका लागि उनले चलखेल गरिरहेका छन् । सरकारी वकिल कार्यालयमार्फत उनले आफुलाई फाइदा हुने गरी मुद्दामा चलखेल गरेको स्रोत बताउँछ । चलखेलकै आधारमा उनका कतिपय घर जग्गा रोक्का पनि भएका छैनन् ।
तामाङले कतिसम्म फट्याइँ गरेका थिए भने आफूले चढ्ने गाडीको भुक्तानीसमेत सहकारीमार्फत गराएका थिए । बा ११ च ३७७७ नम्बरको ल्याण्डक्रुजर जीप हाल सिआइबीले जफत गरेको छ । उनले श्रीमती र छोरीको नाममा राखेको सम्पत्ति पनि रोक्का भइसकेको छ । दुई छोरीको नाममा रहेको कीर्तिपुरको जग्गा रोक्का राखिएको स्रोत बताउँछ । उनको श्रीमती राधिका र दुई छोरीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर भइसकेको छ ।