देउवा पक्षका दुई तिहाइ प्रदेश सभापतिले जिते, पदाधिकारीमा कहाँ कसका मान्छे आए ?

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेस १४औ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशको निर्वाचन परिणाम घोषणा भइसकेको छ। मंगलबार बिहानसम्म घोषित परिणामअनुसार निर्वाचन भएका प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका दुई तिहाइ प्रदेश सभापतिले जित हासिल गरेका छन्।

यसपटकको महावेशनमा कांग्रेस सभापति देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच चुनावी गठबन्धन हुने देखिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएअनुसार प्रदेश १ मा संस्थापन समूह वर्चस्वसहित विजयी भएको छ। संस्थापन समूहका उद्धव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै जित निकालेका हुन्।

आइतबार बिहान घोषित मतपरिणामअनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन्। सुरुआतदेखि नै घिमिरेले अग्रता लिएको भए पनि अन्तिम समयमा थापा दुई मतले विजयी भए। यता सबैभन्दा बढी मतदाता रहेको वाग्मती प्रदेश सभापतिमा पनि संस्थापन समूहकै इन्द्रबहादुर बानियाँ विजयी भएका छन्।

आइतबार साँझ सम्पन्न मतगणनाअनुसार बानियाँ १ हजार ८५ मत पाएर विजयी बने। उनका प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत प्राप्त गरे। बानियाँ १ सय ५८ मतअन्तरले विजयी बनेका हुन्। आइतबारको मतदानमा वाग्मती प्रदेशमा २ हजार १ सय ५१ मतदाता रहेकोमा २ हजार २५ मत मात्र खसेको थियो।

गण्डकी प्रदेश भने संस्थापन इतर पक्षको हातमा गएको छ। कांग्रेसका पुराना नेता शुक्रराज शर्माको नेतृत्वको टिमले एक उपसभापतिबाहेक सबै पदाधिकारी जितेको छ। गण्डकी प्रदेश सभापतिमा शर्माले ६ सय १२ मत ल्याए भने उनका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले ५ सय २८ मत पाए।

लुम्बिनी प्रदेश सभापतिमा पनि संस्थापन इतर समूहका अमरसिंह पुन निर्वाचित भएका छन्। पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले पराजित गरे। पुनले ८ सय ५२ मत ल्याउँदा शाहले ७ सय ६७ मत पाए। पदाधिकारीमा पनि पुन प्यानलकै वर्चस्व रहेको छ।

कर्णाली प्रदेशमा सभापतिसहित सबै पदाधिकारीमा संस्थापन पक्षले ‘क्लिनस्विप’ गरेको छ। कर्णाली प्रदेश सभापतिमा देउवा निकट ललितजंग शाही विजयी भएका छन्। शनिबार राति सम्पन्न मत गणना अनुसार शाहीले ४ सय २२ मत ल्याएर विजयी भएका हुन्। संस्थापन इतरका भूपेन्द्रजंग शाहीले ३ सय १७ मत ल्याए।

सुदूरपश्चिम प्रदेश सभापतिमा पनि संस्थापन पक्षले ‘क्लिनस्विप’ गरेको छ। संस्थापनबाट सभापतिमा वीरबहादुर बलायर निर्वाचित भए। बलायरले ६ सय ८८ मत ल्याउँदा इतर पक्षका नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाए। सुदूरपश्चिम प्रदेश पदाधिकारीमा पनि सबै संस्थापन पक्षबाटै निर्वाचित भएका छन्। सुदूरपश्चिममा केन्द्रीय निर्वाचन समितिका अनुसार कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए।

देशभरका झन्डै ९ लाख क्रियाशील सदस्यहरूको प्रतिनिधित्व गरेर चुनिएका करिब ४५ सय महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन्। सर्लाहीबाहेक बाँकी सात जिल्लमा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्। समय अभाव र आन्तरिक समस्या कारण देखाउँदै मधेसका जिल्लामा केन्द्रीय महाधिवेशन पछि मात्रै अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन परिणामले पर्सा र बारामा देउवा पक्षमा झन्डै दुई तिहाइ बढी महाधिवेशन प्रतिनिधि चयन भएको देखाएको छ। मत परिणामले रौतहट, सिरहा, सप्तरी र महोत्तरीमा पनि देउवा पक्षको अग्रता देखिएको छ। सभापतिका दाबेदार रहेका विमलेन्द्र निधिकै गृहजिल्ला धनुषामा पनि देउवा समूहको बलियो उपस्थिति देखिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबारसम्म कर्बि ४२ सय महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन्। १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सर्लाहीका चार र महोत्तरीको एउटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन बाँकी छ। ती जिल्लामा पनि सोमबारसम्म अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ।

१३औं महाधिवेशनमा देउवा समूहले २५ जिल्ला सभापति मात्र जितेको थियो। अहिले मधेसबाहेक ६१ जिल्लाको नेतृत्व चयन हुँदा ३२ जिल्लामा देउवा पक्षका सभापति आएका छन्।

१४औं महाधिवेशनमा कांग्रेस नेता डा. शशांक र डा. शेखर कोइरालाको गृह प्रदेश–१ का १४ जिल्लामध्ये देउवापक्षले केवल मोरङ, धनकुटा र ओखलढुंगासहित तीन जिल्ला सभापतिमा जित हासिल गरेको थियो। तर अहिले संस्थापन समूहले झापासहित आठ जिल्लाको बहुमत नेतृत्व हात पारेको छ। झापासहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला सभापति संस्थापन निकट चयन भएका छन्।

यता कर्णाली प्रदेशमा पनि १० जिल्लामध्ये संस्थापन समूहले आठ जिल्ला नेतृत्वमा आफ्नो कब्जामा लिएको छ। १३औं महाधिवेशनमा कर्णालीबाट देउवा समूह झन्डै ‘क्लिनस्विप’ भएको थियो। त्यतिबेला हुम्लामा मात्रै देउवानिकट सभापति चयन भएका थिए।

अहिले रुकुम पश्चिम, कालीकोट र जाजरकोटमा सर्वसम्मत सभापति चयन भए पनि उनीहरू संस्थापन पक्षका हुन्। दैलेखमा संस्थापन समूहका उम्मेदवार पराजित भएका छन्। यता गण्डकी प्रदेशमा पनि संस्थापन पक्षले पहिलेभन्दा अहिले अवस्था सुदृढ गरेको छ।

मनाङ, गोरखा, तनहुँ, म्याग्दी, पर्वत र स्याङ्जामा संस्थापन पक्ष बलियो हुँदा मुस्ताङ, बागलुङ, लमजुङ, नवलपुर र कास्कीमा इतर समूह बलियो देखिएको छ। तनहुँ सभापतिमा पौडेलले समर्थन गरेका उम्मेदवार नै पराजित भए छन्। गण्डकीमा संस्थापन र इतर समूह झन्डै बराबरीको अवस्थामा देखिएका छन्।

गण्डकी प्रदेश सभापतिमा संस्थापन समूहका उम्मेदवार अर्जुन जोशीलाई इतर समूहका शुक्रराज शर्माले ८४ मतले हराएका थिए। अघिल्लो महाधिवेशनमा गण्डकीमा पौडेल समूह निकै बलियो थियो। देउवाको गृह प्रदेश सुदूरपश्चिममा पनि संस्थापन पक्ष करिब दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधि ल्याउन सफल भएको छ।