शेखरले गुरूलाई घात गरेको क-कसले लगाए बात, यसरी शशांकले पाउँदैछन् बलियो साथ

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

सोमबार बिहानै कांग्रेसका युवा नेता गुरु घिमिरे प्रदेश १ को सभापतिमा पराजित हुन पुगेको समाचार चारैतिर फैलियो । नेविसंघको सभापति भइसकेका, केन्द्रमा राम्रो पहुँच भएका, इमान्दार र वैचारिक नेता नेता प्रदेशमा हारेपछिको समाचारले कांग्रेस वृत्तमात्रै होइन बाहिर पनि उत्तिकै चर्चा पायो । यो चर्चाका पछाडि झापालाई केन्द्र बनाउँदै राजनीति गरेका उद्धव थापासँगको जम्मा २ भोटको पराजयले बढी काम गरेको थियो ।

कोइरालाहरूको असाध्यै बलियो पकड रहेको क्षेत्रबाट सिटौला पक्षका थापा सभापतिमा जितेका थिए । अझ रोचक त के भने प्रदेश १ का १४ जिल्लामध्ये सिटौला पक्षले जितेको त्यही झापा एकमात्र जिल्ला थियो । बाँकी १३ जिल्लामा संस्थापन देउवा पक्षले ७ र पौडेल–कोइराला पक्षले ६ जिल्लाको नेतृत्व जितेको थियो ।

तर, समन्वय र तालमेल गरी एक जिल्लामा सीमित थापाले प्रदेशमा ६ जिल्ला जितेको, पुरानो पकड रहेको र कोइरालाहरूको बलियो उपस्थिति रहेको क्षेत्रमा केन्द्रीय नेता गुरुलाई पराजित गरिदिए ।

गुरुले जम्मा २ भोटले हारको समाचारको चर्चा नसेलाउँदै अर्को समाचार भाइरल भयो । डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले भोट नहाल्दा गुरु हारे । मूलधारका सबै संचारमाध्यममात्रै होइन कार्यकर्ता र विपक्षलेसमेत यो स्थितिलाई अस्वभाविक माने । पौडेल पक्षका यी नेताले भोट नहाल्दा गुरु २ भोटले हारेको सबैले बुझ्ने तथ्य बनिदियो ।

समाचार भाइरल हुनेबित्तिकै शेखर कोइरालाले सामाजिक संजालमार्फत् प्रष्टीकरण दिँदै गल्ती भएको भए माफी माग्छुसम्म भन्न भ्याए । ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय सुरुदेखि नै “संशय” थियो ।

‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु’, शेखरले सामाजिक संजालमार्फत भने ।

शेखरले नै गुरुलाई प्रदेशमा उम्मेदवार बनाउन लगेका थिए । तर, अन्ततः शेखरले नै भोट नहाल्दा गुरु हारेको समाचारपछि शेखर दबाबमा आएका हुन् । समाचार आउनेबित्तिकै शेखरले सामाजिक संजालमा त लेखे । तर, १४ औं महाधिवेशनमा सभापतिका दाबेदार कोइरालाकै कारण गुरु हारेपछि उनलाई थप संकट देखिएको छ ।

एक परम्परागत क्षेत्रमा देउवा–सिटौला मिलेर जितेका थिए । अर्को महाधिवेशनको चार दिन अघिमात्रै शेखरसहितका नेताको कमजोरीले हारेको सन्देश प्रवाह भएको हो । जसले शेखरलाई नैतिक र सांगठनिक रुपमा थप कमजोर बनाएको छ । शेखरले नियतवस यस्तो नगरे पनि यतिखेर उनी तारोमा परिरहेका छन् ।

सोमबार सम्पादकहरूसँगको छलफलमा शेखरले आफ्नै टिमका नेताबाट कडा प्रश्नको सामना गर्नुपरेको थियो । नेता धनराज गुरुङले शेखरसहित नेताको कमजोरीले गुरु हारेको भन्दै पटकपटक प्रश्न उठाएका थिए ।

एक जनाले भोट नहाल्नु सामान्य जस्तो लागे पनि यही भोट प्रकरणले शेखरले महाधिवेशनको मुखमा क्षति पुगेको कांग्रेसका एक नेता बताउँछन् ।

‘आफ्नै टिमको हुँदा शेखरले भोट नहालेर हार्नुभयो भन्ने होइन । तर, भोटमा संवेदनशील नहुँदा भने गुरु हारेको देखियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘महाधिवेशन आउन तीनचार दिन बाँकी हुँदा यस्तो परिस्थिति देखिनुले स्वयं शेखरलाई नै घाटा गर्ने देखिन्छ ।’

प्रदेश १ मा राजीव कोइराला प्रदेश सभापतिका अर्का दाबेदार थिए । उनी शेखर निकटका मानिन्छन् । तर, उनको सट्टामा गुरुलाई उम्मेदवार बनाइयो । राजीव असन्तुष्ट हुँदासमेत गुरुको आउनुपर्ने जति भोट नआएको बताइन्छ ।

सात प्रदेशमध्ये संस्थापनले चारवटामा मात्रै जितेन कोइरालाहरूको बलियो प्रभाव रहेको प्रदेश १ समेत गुम्न पुग्यो । यसमै गुरु घिमिरे कोइराला परिवारकै सदस्य, महेश आचार्य र बलबहादुर केसीको लापरवाहीले हारेपछि पूर्व संस्थापनमा झन् तनावको स्थिति देखिएको बताइन्छ ।

देउवा हावी हुँदै जाँदा जित्नुपर्ने तर बलियो ठाउँमा नै पराजित हुनुपरेपछि सभापतिमा शेखरको दाबीलाई प्रतिस्पर्धीले कमजोरीको रुपमा उठाउने देखिएको छ । दुई दिनभित्र सभापतिसहित पदाधिकारीको टुंगो लगाउन रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइराला जुट्दैछन् ।

प्रदेश १ शेखरको क्षेत्रमा जित्न नसकेको, वाग्मतीमा प्रकाशमान र गगनले जिताउन नसकेको भन्दै उनीहरूको आलोचना सुरु भइसकेको छ । यस्तोमा नेता पौडेल र शशांकलाई दाबेदारी दिन थप बल मिलेको बताइन्छ ।

किनकी पौडेल र शशांक गण्डकी अधिवेशनको तीनचार दिनदेखि पोखरा पुगेर शुक्रराज शर्मालाई जिताउन भूमिका खेलेका थिए । उनीहरूले सहमतिमा अरु दाबेदारलाई छोड्दै पुराना नेता शर्मालाई जितसम्म पुर्याउने क्रममा देउवा निकटका केन्द्रीय नेता अर्जुन जोशीलाई पराजित गराएका थिए ।

अहिलेमात्रै होइन सामान्य अभिव्यक्तिले शेखरलाई २०७४ सालको चुनावमा पनि गाह्रो परेको थियो । त्यसबेला ‘म लालबाबु पण्डितलाई चिन्दिनँ’ भन्ने शेखरको अभिव्यक्तिले उनलाई निक्कै घाटा पुर्याएको थियो । अन्ततः लालबाबुसँगै शेखर पराजित हुन पुगेका थिए । मोरङ ६ मा लालबाबुसँग शेखर ६७५ मतले पराजित हुन पुगेका थिए ।

दोष शेखर र सुजातालाई गए पनि प्रदेश १ मा गुरुको सम्बन्ध महेश आचार्यसँग पनि छैन । २०७० सालको निर्वाचनदेखि नै दुईबीच सम्बन्ध राम्रो नभएको बताइन्छ । ‘यहाँ चर्चा शेखरले भोट हालेनन् भन्ने छ । तर, महेश दाई र गुरु दाइबीच २०७० सालको चुनावदेखि नै सम्बन्ध राम्रो छैन’ दुई नेताको सम्बन्धबारे कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘गुरुलाई महेशले भोट हालेनन् भन्छन् । भोट हालेको भए दुई भोटको सट्टा तीन भोटले हार्ने सम्भावना थियो ।’