माओवादी केन्द्रको सम्मेलनका प्रतिनिधिले खाने/बस्ने व्यवस्था आफैले गर्नूपर्ने, २ हजार तिर्नै पर्ने

  • प्रकाशित मिति : २०७८ मंसिर २१, मंगलवार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले यो सम्मेलनमा आफ्ना प्रतिनिधिहरूलाई खान र बस्ने व्यवस्था आफै गर्न सर्कुलर जारी गरेको छ । गत १६ र १७ गते पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय परिपत्रमार्फत जारी गर्दै माओवादीले सो कुराको जानकारी गराएको हो ।

प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ । २ हजार रुपैयाँ बुझाएपछि मात्रै प्रतिनिधिले बन्दसत्र हलभित्र प्रवेश पाउने छन् ।

यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ सम्म केन्द्रीय कार्यालयमा पठाउन प्रचण्डले मातहत कमिटीलाई सर्कुलर गरिसकेका छन् । माओवादीले मंसिर २५ मा सबै प्रदेशको प्रदेश सम्मेलन एकैपटक गर्दैछ  ।

यस्तो छ परिपत्र

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक २०७८ मंसिर १६ र १७ गते पार्टी अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले लिएका निर्णयहरू जानकारी एवम् कार्यान्वयनको लागि यो परिपत्र जारी गरिएको छ ।

१. बैठकको प्रारम्भमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति सम्मान व्यक्त गरियो ।

२. अध्यक्ष कमरेड प्रचण्डले केन्द्रीय कार्यालयको तर्फबाट विकसित राजनीतिक घटनाक्रमको बारेमा संक्षिप्त रिपोटिङ गर्नुभयो । बैठकमा उपस्थित प्रदेश समितिका इञ्चार्जहरूले आ–आफ्ना प्रदेश अन्तर्गतका स्थानिय पालिकासम्मका सम्मेलन र संगठित सदस्यता नवीकरण सम्बन्धमा उत्साहजनक रिपोटिङ गर्नुभयो । रिपोर्टिङको सार निम्नानुसार रहेको छ ।

(क) पार्टी पुनर्निर्माणको महाअभियान आधारभूत रूपले उत्साहजनक रुपमा अगाडि बढिरहेको छ । केही स्थानहरूमा विविध कारणले पालिका सम्मेलन हुन बाँकी रहे पनि अधिकांश पालिकाहरूमा अधिवेशन सम्पन्न भएका छन्। संगठित सदस्यता नवीकरण पनि उत्साहजनक रुपमा भइरहेको छ । जहाँ समस्या छन् त्यहाँ अझै मिहिनेत गर्नुपर्ने आवश्यकता देखिन्छ ।

(ख) विधानलाई अनुशरण गर्ने कोशिस भएको छ । विधि, पद्धतिलाई लागू गर्न अझै पहल बढाउन जरुरी छ ।

३. आवेदन शुल्कको बारेमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने । सदस्यताको शुल्क दाखिला गरेपछि पदाधिकारीको लागि बाँकी शुल्क मात्र लिने व्यवस्था मिलाउने ।

४. केन्द्रीय प्रतिनिधिको रूपमा प्रस्तावित कमरेडहरूको बारेमा सबै प्रदेशहरूसँग सल्लाह गरी समग्र र सन्तुलित प्रस्ताव पेस गर्ने जिम्मा अध्यक्ष कमरेड प्रचण्डलाई दिइएको छ ।

५. २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरूको बैठक बसी राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्नु पर्नेछ ।

६. पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ ।

७. प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरूको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय भएको छ ।

८. वटासम्म पालिकाहरू भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरूमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १/१ जना सदस्य थप गर्ने निर्णय गरिएको छ ।

९. राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने विधानको आवश्यक परिमार्जन गर्न कमरेड देव गुरुङको संयोजकत्वमा कमरेड जनार्दन शर्मा, कमरेड लीलामणि पोखरेल, कमरेड पम्फा भुसाल र कमरेड मातृका प्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

१०. राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न कमरेड गिरिराजमणि पोखरेल, कमरेड शक्तिबहादुर बस्नेत, कमरेड गणेश साह रहनुभएको तीन सदस्यीय समिति गठन गरिएको छ ।

११. राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि कमरेड हितमान शाक्यको संयोजकत्वमा कमरेड डिलाराम आचार्य, कमरेड नारायण दाहाल, कमरेड सत्य पहाडी, कमरेड लेखनाथ न्यौपाने, कमरेड श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, कमरेड रामप्रसाद सापकोटा र कमरेड जगत सिंखडा रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।

१२. कमरेड कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन गरिएको छ ।

१३. सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज, अध्यक्ष र सचिव बाहेक सबै केन्द्रीय सदस्यहरु प्रदेश सह-इन्चार्ज रहने र जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नै रहने यसअघिको इन्चार्ज तोकिएका केन्द्रीय प्रतिनिधिहरू जिल्ला सह-इन्चार्ज रहने निर्णय गरिएको छ ।

१४. प्रत्येक प्रदेशले कम्तिमा १ जना घाइते/अपाङ्गता भएका कमरेडहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय गरिएको छ ।

१५. प्रत्येक प्रदेशले २०७८ मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनु पर्नेछ ।

१६. सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा कमरेड हरिबोल गजुरेल सचिव रहने गरी कमरेड देव गुरुङ, कमरेड लीलामणि पोख्रेल र ५ जना माननीय मन्त्रीज्यू सम्मिलित एक समिति गठन गरिएको छ ।

१७. केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाई सक्नु पर्नेछ ।

१८. राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क रु. २,०००।– (अक्ष रुपी दुई हजार रुपैयाँ) प्रतिव्यक्ति तोकिएको छ । सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन स्वयम् आफैं गर्नु पर्नेछ । आ-आफ्ना प्रतिनिधिहरूको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुनेछ ।