रविन दाहाललाई सरकारले दियो नेपाल स्काउटको चाबी

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रविन दाहाल नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन् ।

२०७८ मंसिर १९ को मन्त्रीस्तरीय निर्णयअनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई प्रमुख आयुक्तको जिम्मेवारी समेत दिइएको छ । त्यसैगरी, सहसंयोजकमा राजीव खत्री नियुक्त भएका छन् । उनलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारीसमेत दिइएको छ ।

त्यसैगरी, स्काउटको सदस्यहरुमा बबिता कटुवाल, विजयकिशोर झा, हरिबहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोषकुमार थापा, शिवप्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दीपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त भएका छन् । जसमध्ये कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त पदाधिकारीलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुदमन्त्री गहतराजले सोमबार शपथ ग्रहण गराएका छन् । मन्त्रालयको सभाहलमा भएको शपथग्रहण कार्यक्रममा मन्त्री गहतराजले नवनियुक्त पदाधिकारीलाई शपथ खुवाउँदै स्काउटको अन्तराष्ट्रिय मूल्य मान्यताको परिधिमा रही कर्तव्य निर्वाह गर्न निर्देशनसमेत दिए ।

स्काउटजस्तो मर्यादित संस्थाको मूल्य–मान्यतालाई कायम राख्दै मर्यादित, अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्न मन्त्री गहतराजले नवनियुक्त पदाधिकारी तथा सदस्यलाई निर्देशन दिए ।

सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तीमा एकजना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने भन्दै विश्वाससमेत व्यक्त गरे । समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारीसमेत तोकिएको छ ।