प्रदेश सभापतिमा कोहि गुट बदल्दा हारे, कतै गिरिजाको फोटोमा कालोमोसो दल्नेले जित हात पारे

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएका छन् । केही क्षेत्रमा जारी विवादका कारण प्रदेश २ मा भने महाधिवेशनपछि मात्रै प्रदेश कार्यसमितिको लागि निर्वाचन हुनेछ ।

६ वटा प्रदेशको परिणाम आउँदा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले ३ वटा प्रदेशको नेतृत्व हात पारेको छ । देउवा पक्षले वागमती, कर्णाली र सुदूरपश्चिम कांग्रेसको नेतृत्वमा जित हासिल गरेको हो ।

संस्थापनइतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले २ प्रदेशको नेतृत्व जितेको छ । गण्डकी र लुम्बिनी पौडेल पक्षले निर्वाचनबाट नेतृत्व हात पारेको हो । कांग्रेसमा तेस्रो धार भनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले एक प्रदेशमा जित हासिल गरेको छ । सिटौला समूहले प्रदेश एकमा नेतृत्व गरेको छ । प्रदेश २ मा भने अधिवेशन हुन सकेन ।

कांग्रेसको राजनीतिक प्रादुर्भाव भएको क्षेत्र हो प्रदेश १ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरासम्मको राजनीतिक विरासत जोडिएको सो प्रदेशमा यसपटक कृष्णप्रसाद सिटौलाको सहयोगमा सभापति शेरबहादुर देउवाले तागत बढाएका छन् । प्रदेश अधिवेशनमा सिटौला पक्षका उम्मेदवार उद्धव थापालाई सभापतिमा देउवा पक्षले सघाएको थियो । बदलामा प्रदेश १ का अधिकांश क्षेत्र र जिल्लाका अधिवेशनमा सिटौला पक्षको साथ देउवा समूहले पाएको थियो ।

संस्थापनइतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे प्रतिस्पर्धामा रहेका थिए । अन्तिम परिणाममा घिमिरे २ मतले पराजित भएपछि देउवा-सिटौला गठबन्धनले प्रदेश १ मा नेतृत्व हात पारेको हो । सभापतिमा निर्वाचित थापा दुई कार्यकाल झापा कांग्रेसको सभापति रहेका थिए । उनी सिटौलाका राजनीतिक विश्वासपात्र मानिन्छन् । प्रदेश कार्यसमितिको उपसभापतिमा रमेशजंग रायामाझी र टंकप्रसाद राई, महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा तथा सहमहामन्त्रीमा खड्ग फागो, विनोद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।

वागमती प्रदेशमा संस्थापनइतर समूहले अन्यत्रभन्दा आफूलाई बलियो दाबी गरेको थियो । यद्यपि परिणाम त्यस्तो आएन । प्रकाशमान सिंह, डा. रामशरण महत, डा. अर्जुननरसिंह केसी, गगन थापालगायतका नेताहरू निरन्तर खटिए पनि वागमती प्रदेश सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भए । उनले नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतको अन्तरले पराजित गरे । बानियाँको जितमा सिटौला पक्षको समर्थन निर्णायक रह्यो ।

पहिलो चरणमा १ सय ९७ मत ल्याएका सिटौला पक्षका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई सहयोग गरेका थिए । अघिल्लो महाधिवेशनभन्दा वागमती प्रदेशमा सुधार गरेको संस्थापन पक्षलाई सिटौलाको समर्थनले अझ बढी सफलता दिलायो । वागमती प्रदेशका पदाधिकारी र कार्यसमिति सदस्यहरूको मतपरिणाम आउन बाँकी छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको गृह प्रदेश गण्डकीमा संस्थापनइतर पक्षले नै जित हासिल गरेको छ । सभापतिमा पौडेल पक्षका उम्मेदवार शुक्रराज शर्माले संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे । गण्डकीमा सिटौला पक्षको मत नगण्य रहेको थियो । यसकारण मुख्य प्रतिस्पर्धा देउवा र पौडेल पक्षकै बीचमा हुन पुग्यो । उम्मेदवार घोषणापूर्वका असहमति थाती राखेर अन्तर्घात रोक्न सकेकै कारण पौडेल पक्षले जित हासिल गरेको हो ।

जिल्ला अधिवेशनमा तनहुँसहित कास्की, लमजुङ, म्याग्दी, मनाङ र पर्वत गुमाएपछि पौडेललाई गण्डकीमा साख जोगाउनैपर्ने चुनौती थियो । शर्माको जितले पौडेल-कोइरालालाई राहत मिलेको देखिन्छ । गण्डकी प्रदेशको उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

सभापति देउवाको टिमबाट महामन्त्री लड्ने तयारी गरिरहेका गृहमन्त्री बालकृष्ण खाणका लागि लुम्बिनी प्रदेशको परिणाम बिर्सनलायक रह्यो । एकातिर देउवा पक्षले प्रदेशको नेतृत्व गुमायो भने खाणलाई अन्तर्घातको आरोप समेत लाग्यो । लुम्बिनी प्रदेशका १२ मध्ये ११ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जसमध्ये २ वटामा मात्रै संस्थापन पक्षले जित हासिल गरेको थियो । आफ्ना भाइ रामकृष्ण खाणलाई रुपन्देहीमा सर्वसम्मत सभापति बनउन भरत शाहको समर्थन लिएपनि खाणले शाहलाई प्रदेश सभापतिमा असहयोग गरेको चर्चा संस्थापन समूहमा छ । शाह संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनसँग पराजित भएका हुन् । पूर्वराज्यमन्त्री पुन रोल्पा कांग्रेसका पूर्व सभापति समेत हुन् । लुम्विनी प्रदेश कार्यसमितिको उपसभापतिमा भुवन श्रेष्ठ र राजु खनाल, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा खगराज पाण्डेय, विष्णु खनाल र निमा गिरी निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भए । परम्परागतरूपमै कर्णाली प्रदेशमा देउवा पक्षको पकड राम्रो भएको मानिथ्यो । यद्यपि १३ औं महाधिवेशनमा सुर्खेतमा संस्थापनइतर पक्ष हावी थियो । क्रियाशील सदस्यतामा आफ्नै टिमका नेताले अडान नलिएका कारण कर्णाली प्रदेश गुमाउनु परेको आन्तरिक समीक्षा पौडेल पक्षले गरेको छ । सुर्खेतको अधिवेशनमा संस्थापनइतर पक्ष बढारिएको थियो । सुर्खेतको जित नै संस्थापन पक्षका लागि कर्णालीको जित सावित भयो । जसका लागि महामन्त्री पूर्णबहादुर खड्काले गरेको मेहेनत खेर गएन । कर्णालीमा मोतीराज बलले उपसभापति विमलेन्द्र निधिको समूहबाट सभापतिमा उम्मेदवारी दिएपनि ७ मत मात्रै ल्याए । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशनमा कम्तीमा ३ सय प्रतिनिधि हुन्छ । प्रदेशको जितले संस्थापन पक्षको मनोबल बढाएको छ ।

कर्णालीको उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की, महामन्त्रीमा निरन्जन केसी र कृष्णकुमार रोकाया तथा सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछायाँ कुमारी शाही निर्वाचित भए ।

विगतदेखि नै सुदूरपश्चिम सभापति देउवाको गढका रूपमा रहेको थियो । यसपटक पनि त्यसले निरन्तरता पाएको छ । केन्द्रीय सदस्य बलबहादुर बलायरको उम्मेदवारीले संस्थापन पक्षलाई अझ बल प्रदान गरेको थियो । सभापतिसहित प्यानल नै संस्थापन पक्षले जितेको छ । बलायरलाई सहमतिमै छाड्न संस्थापनइतर पक्ष तयार भएपनि सम्मानजनक उपस्थिति भाग नपाउने भएपछि नारायणदत्त मिश्र सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सुदूरपश्चिममा फराकिलो जितले देउवाको दोहोरिने प्रयासमा बल पुगेको छ ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिको उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपालदत्त भट्ट , चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भए। सुदूरपश्चिम सभापति जितेका बलायेरले बिद्यार्थी नेता छँदा गिरिजाप्रसादको तस्बिरमा कालोमोसो दलेर चर्चा कमाएका थिए। उता गण्डकीमा पराजित अर्जुन जोशी गुट बदल्दा पराजित भएको चर्चा कांग्रेस वृत्तमा हुने गरेको छ।