आज भन्दा करिब एक वर्ष अघिको बिन्दुमा पुग्यो नेप्से, के कारण बजार हुरहुर्ती बढ्यो ?

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

सोमबार एक समय ७३ अंक सम्म घटिसकेको सेयर बजार अन्तत ३२ अंकले बढेर बन्द भएको छ। तर बजार हरियो हुनु अघि भने चार पटक रातो र चार पटक हरियो भएको थियो।

२४४० बिन्दु सम्म झरेको बजार कुनै समय २५५० बिन्दु सम्म पनि पुगेको थियो। बन्द हुँदा २५४६ बिन्दुमा बन्द भएको छ।

११० अंकको उतार चढाव आउनुको पछि खास कारण के हो त ?

३२०० अंक सम्म पुगेको बजार तीन महिनाको छोटो अवधिमै २४४० बिन्दुमा आउनु भनेको अस्वभाविक जस्तै थियो। २४०० बिन्दु भनेको आज भन्दा करिब एक वर्ष अघिको बिन्दु पनि हो। बजार ३ महिनाको अवधिमै एक वर्ष अघिको बिन्दुमा आएपछि लगानीकर्ताहरुले यसलाई लगानी गर्ने उपयुक्त अवसरको रुपमा क्यास गर्दा बजार घट्नेक्रममा ब्रेक लागेको एक ब्रोकरले बताए।

३ महिनाको छोटो अवधिमै साढे सात सय अंक भन्दा बढी घटेपछि बजार यो भन्दा तल जादैन भन्ने मनोविज्ञानले काम गर्दा बजारमा उतार चढावका बीच हरियो भएर बन्द भएको हो।

बजारलाई अस्वभाविक रुपले घटाएर चलखेल गर्न खोजेको भन्दै बजारका साना ठूला लगानीकर्ताहरुले ‘नोभोट’ अभियान चलाएपछि यसले पनि सकारात्मक वातावरण बनाउन काम गरेको लगानीकर्ताहरुले बताएका छन्।

हुन पनि सोमबारको कारोबारमा पहिलो एक घण्टामा एक अर्ब रुपैयाँको कारोबार हुँदा त्यसको आधा घण्टामै करिब एक अर्ब रुपैयाँकै सेयर किनबेच भएको थियो। बजार हुरहुर्ती बढेपछि कारोबारको रफ्तार भने घटेको थियो। बजार हरियो हुँदै गएपछि भने कारोबार रकम हिजो अस्तीको जस्तै सामान्य भएको थियो।

पछिल्लो तीन दिनमा लगातार कारोबार रकम उकालो लागेको छ। बीहिबार साढे तीन अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा आइतबार चार अर्ब र सोमबार साढे चार अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ।

२२७ कम्पनीको सेयर कारोबारमा आउँदा २५ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ। सुरुवातमा भने पाँच कम्पनीको मूल्य बढ्दा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको थियो।

कारोबार बन्द हुँदा मेरो माइक्रोफाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ। जनउत्थान लघुवित्तको सर्वाधिक ६ प्रतिशतले मूल्य घट्दा न्यादी हाइड्रोपावरको ४ प्रतिशत र युनिलिभर नेपालको २ प्रतिशत मूल्य घटेको छ।

नबिल बैंकको सर्वाधिक १७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको १५ करोड, हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंकको समान १४ करोड रुपैयाँको कारोबार भएको छ।

एक समय सबै उपसमुह राताम्मे भएको बजारमा अन्तिममा भने सबै उपसमूह हरियो भएका छन्। विकास बैंक र जीवन बीमा समूहको सूचक १०० अंक भन्दा धेरै बढेको छ। ७० हजार कारोबारबाट ९५ लाख कित्ता सेयर चार अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएका छन्।