जसले गुरुलाई उचाल्यो उसैले किन थेचार्यो ? शेखर,सुजाता र महेशले किन हालेनन् भोट ?

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेस प्रदेश १ को सभापतिको उम्मेदवार छनोट गर्दै गर्दा डाक्टर शेखर कोइरालाले गुरुराज घिमिरेलाई रोजे । प्रदेशका सबै जिल्ला घुमेको, विद्यार्थी राजनीतिबाट आएको, प्रखर वक्ता भएकाले घिमिरेले जित्ने उनको आकलन थियो । तर मतपरिणाम विपरीत आयो ।
एक हजार ७५३ प्रतिनिधिले मतदान गर्दा घिमिरे २ मतले पराजित भए भने संस्थापन पक्षका उम्मेदवार उद्धव थापा निर्वाचित भए ।

सभापतिमा उठ्ने तयारी गरिरहेको बेला डाक्टर कोइरालाका उम्मेदवार आफ्नै क्षेत्रमा पराजित भएपछि उनलाई धक्का लागेको विश्लेषण हुन थालेको छ ।

नेपाली कांग्रेस एक नम्बर प्रदेशमा सभापतिका प्रत्यासी गुरुराज घिमिरे पराजित भएपछि संस्थापन इतर समूहमा विवाद सुरु भएको छ। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका छन्।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौलाको समर्थन पाएका थापाले ८४४ मत प्राप्त गर्दा घिमिरेले ८४२ मत प्राप्त गरे।

प्रदेश १ को सभापतिमा घिमिरे विजयी हुने अनुमान गरिएको थियो। खासगरी संस्थापन इतर समूहले घिमिरे करिब २५० मतले विजयी हुनेमा ढुक्क थियो। तर, मतगणना सकिँदासम्म परिस्थिती फेरियो। र, पासा पल्टाउँदै थापा दुई मतले विजयी भए।

अहिले घिमिरेको पराजयको कारण संस्थापन इतर समूहमा खोजी भइरहेको छ। घिमिरे पराजित भएपछि मोरङ कांग्रेसमा उथलपुथल देखिएको छ। र, नेता–कार्यकर्ताले घिमिरेको हारमा तीन केन्द्रीय नेतालाई दोष दिइरहेका छन्।

मतदान स्थलमै पुगेर पनि केन्द्रीय नेताले मतदान नगर्दा घिमिरे हारेको टिप्पणी नेता–कार्यकर्ताको छ। मतदान स्थलमै उपस्थित भएर पनि नेताहरू डा. शेखर कोइराला, सुजता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्। उनीहरूले मतदान गरेको अवस्थामा घिमिरेले एक मतले जित्ने अवस्था रहन्थ्यो। तर, तीन नेताले भोट नहालेका कारण घिमिरेले पराजय भोग्नुपरेको मोरङ कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।

‘गुरुलाई राजा–महाराजाले हिसाब गरेको भरमा मतदान नगरेर हराए। रणनीतिअनुसार करिब २ सय ५० मतले जित्ने आकलन गरिएको थियो। त्यही आकलनका कारण चाहिने भन्दा बढी आत्मविश्वास राख्दा पराजय भोग्नुपर्‍यो,’ ती नेताले भने, ‘हारको जिम्मेवारी दुई कोइराला र आचार्यले लिनुपर्छ। नत्र मतदानस्थलमा उपस्थित भएर पनि किन भोट नहालेको?’

केन्द्रीय नेताहरू सिटौला, रक्षामन्त्रीसमेत रहेका मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए। तर, कोइरालाद्वय र आचार्यले भने मतदान गरेनन्। प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न गएका थिएनन्।