प्रदेश कांग्रेसमा देउवा पक्ष हाबी, शेखर कोइरालालाई लाग्यो हाई भोल्टेजको झड्का

  • प्रकाशित मिति : २०७८ मंसिर २०, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट ६ प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा नयाँ नेतृत्व चयन भएको हो। छ प्रदशमध्ये चार प्रदेशमा सभापति शेरबहादुर देउवा समूह र दुई प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन्।

सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ मा संस्थापन समूहका उम्मेदवारहरु विजयी भएका हुन् भने गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका हुन्।

गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ६ सय १३ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन्। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याए। सभापतिमा निर्वाचित कास्कीका शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। पदाधिकारीमा एक उपसभापतिबाहेक बाँकी पदमा पनि पौडेल पक्ष नै विजयी भएको छ।

लुम्बिनी प्रदेश सभापतिमा पनि संस्थापन इतर समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सम्पन्न भएको मतगणनामा पुनले ८५२ मत ल्याएर संस्थापन समूहका भरत कुमार शाहलाई पराजित गरेका हुन्। शाहले ७ सय ६७ मत ल्याएका थिए। रोल्पा कांग्रेसका निवर्तमान सभापति, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य पुनले ८५ मतान्तरले सार्वजनिक लेखा समितिका सभापति, पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य शाहलाई पराजित गरेका हुन्।

निर्वाचन समितिका अनुसार उपसभापतिमा भने संस्थापन इतर समूहका अष्टभुजा पाठक पराजित भएका छन्। उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ ८४७ मत सहित निर्वाचित भएका छन्। अन्य पदाधिकारीमा भने संस्थापन इतर समूह नै विजयी भएको छ।

सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए। पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको हो।

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन्। ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षको प्यानलकै जित भएको छ।

बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बागमती प्रदेशको आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बानियाँले जगदीश नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन्। बानियाँ देउवा समूहका उम्मेदवार हुन् भने केसी संस्थापन इतर समूहका उम्मेदवार हुन्। आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे। यसअघि शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो। पहिला चरणमा देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए।

कांग्रेसका प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित भएका छन्। संस्थापन समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले पराजित गरेका छन्।सोमबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याए। थापालाई सिटौला समूहको पनि साथ रहेको थियो।

सभापति सहित नौ जना प्रदेश पदाधिकारीमा दुई जना संस्थापन इतर समूहका छन्। महामन्त्री उमेश थापा र सहमहामन्त्री रोहितकुमार साहबाहेक संस्थापन‒सिटौला समूहकै नेताहरू निर्वाचित भएका छन्।

प्रदेश सभापतिमा संस्थापन समूहले जितेसँगै केन्द्रीय सभापतिमा दाबी गर्दै आएका डा. शेखर कोइरालालाई झड्का लागेको छ। जिल्ला सभापतिहरूमा संस्थापन समूहको शक्तिशाली उपस्थिति सहित प्रदेशमा संस्थापन समूहको पदाधिकारीमा वर्चश्व देखिनुले डा. कोइरालालाई अप्ठ्यारोमा परेका छन्।

प्रदेश २ मा अन्योल

प्रदेश २ को निर्वाचन भने अनिश्चित बनेको छ। मतदाता नामावली प्राप्त हुन नसकेपछि नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ। प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिनपछि पनि मतदाता नामावली आठ वटै जिल्लाको आउन नसकेपछि निर्वाचन प्रक्रिया सुरु पनि सकेको छैन। प्रदेश २ का केही जिल्लामा विवाद कायमै छ।

प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्, जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेको निर्वाचन समितिले जनाएको छ। सर्लाही जिल्लाका कैयौं वडामा समेत अधिवेशन भएको छैन। जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली अझै पनि प्राप्त हुन नसकेका कारण पूर्व घोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश २ का संयोजक रमेश रिजालले जानकारी दिए ।

‘निर्वाचन तालिका अनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्ने थियो तर हुन सकेन,’ रिजालले भने, ‘मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, सम्भावना पनि न्यून नै लागिरहेको छ। आज १ बजेसम्म मतदाता नामावली केन्द्रबाट पठाउने भनिएको छ। नामावली आयो भने निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रयास गर्छौं, नआए छलफल गरेर के गर्ने विषयमा निर्णय गर्ने छौं।’

मतदाताको नामावली आउन नसकेकै कारण मनोनयनपत्र दर्ता गर्ने कार्य स्थगित गर्नुपरेको प्रदेश २ का रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिए। रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौट सम्पन्न भए पनि नामावली प्राप्त हुन नसकेको यादवले जनाए। आज निर्वाचन प्रक्रिया अगाडि बढ्न नसके महाधिवेशन पछि नै प्रदेश २ को अधिवेशन गर्ने तयारी समेत गरिएको छ।