नेकपा (एमाले)का सांसद भीम रावलले संसद् अवरुद्ध गर्नुको औचित्य नभएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो,’ उनले लेखेका छन्,‘सरकारका सबै कामकारबाही हुन दिइ संसद् अवरूद्ध गरेको भन्नुको अौचित्य छैन।’
उनले कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्ने नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्ने बताएका हुन्। ‘अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ,’ उनले लेखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद् बैठक पनि अवरुद्ध गर्ने संकेत दिएका बेला रावलको यस्तो प्रतिक्रिया आएको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ मा संसद्को अधिवेशन आह्वान गरिसकेकी छन्। एमालेले भने निरन्तर रुपमा संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ।