शहीद स्मारक ए डिभिजनमा मनाङ मर्स्याङ्दी क्लबले संकटासँग बराबरीको नतिजा निकाल्यो

  • प्रकाशित मिति : २०७८ मंसिर १८, शनिबार
  • chhanbin.com

दुई पटक पछि परेको खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटासँग बराबरीको नतिजा निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाविरुद्ध २–२ गोलको नतिजा निकालेको हो ।

यससँगै जारी लिगमा मनाङको अपराजित यात्रा कायमै रहे पनि विजय यात्रा भने रोकिएको छ । आजको खेलमा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक/एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक/एक गोल गरे ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङविरुद्ध संकटाले ३०औँ मिनेटमा अग्रता लिएको थियो । खेलको ३५ औँ मिनेटमा मनाङले बराबरी गोल फर्कायो । त्यसपछिको पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

खेलको ७०औँ मिनेटमा संकटाले पुनः अग्रता लियो । त्यसपछि दबाबमा परेको मनाङले इन्जुरी समयमा बराबरीको गोल फर्कायो ।

यो खेलसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिँदा संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए ।