यी र यस्ता तर्क सहित महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरे

  • प्रकाशित मिति : २०७८ मंसिर १८, शनिबार
  • chhanbin.com

कांग्रेस नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। १४ औं महाधिवेशनमा आचार्यले उप–ससभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै आचार्यले २४ मंसिरदेखि हुने महाधिवशेनमा उपसभापतिमा उठ्ने घोषणा गरेका हुन्। पार्टी वैचारिक हिसावमा शून्य हुँदै गएको भन्दै आचार्यले उपसभापति भएर पार्टीलाई थप प्रशिक्षित गर्ने बताए। कांग्रेसको उपसभापति पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पदेन संयोजक हुन्छ।

कमजोर हुँदै गएको पार्टीमा सैद्धान्तिक र वैचारिक छलफल र प्रशिक्षणलाई घनिभूत बनाउनुपर्ने उनको भनाई छ। कांग्रेसमा प्रदुषित निर्वाचन प्रणाली हावी भएको र यसले पार्टीमा विकृति निम्त्याएको उनको ठम्याइ छ ।

पौडेल पक्षका भए पनि आचार्यले कुन टिमबाट सभापतिको उम्मेदवार भन्ने खुलेको छैन । तर, सभापतिमा जो आए पनि आफूले उपसभापति हुँदा सबैलाई मिलाएर अघि बढ्ने दाबी उनी गर्छन्।
‘कांग्रेसमा जोसुकै सभापति बनेर आए पनि म सबैलाई कन्भिन्स गरेर अघि बढ्न सक्छु’ आचार्यले भने, ‘यसैले पार्टीलाई वैचारिक, सांगठनिक रुपमा थप बलियो बनाउन पनि उपसभापतिमा उम्मेदवारी दिन लागेको हुँ।’

यसअघि मन्त्री भइसकेका आचार्य कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी पूर्व संस्थापन निकटका नेता हुन् । कांग्रेसमा आचार्य खरो स्वभावका नेता मानिन्छन् । उनले आफूलाई प्रष्टै यो गुट वा त्यो भनेर पछिल्लोसमय खुलाएका छैनन्।

पार्टीलाई धेरै ठाउँमा सुधानुपर्नेछ : आचार्य

कांग्रेस वैचारिक, सैद्धान्तिक र व्यवहारिक रुपमा प्रष्ट भएर जानुपर्छ भन्नेमा म छु । मेरो विचार, मान्यता पार्टी वैचारिक र सैद्धान्तिक रुपमा जति प्रष्ट हुन्छ त्यति व्यवहारिक नतिजा दिन सकिन्छ भन्नेमा छ।

यसैले पार्टी संगठनमा देखा परेका समस्यालाई अगाडि सारेर म उपसभापतिको उम्मेदवार बन्ने घोषणा गर्न पुगेको हुँ। किनकि विचार र नीतिका आधारमा होइन व्यक्तिमा आधारित भएर नेतृत्व चयन गर्ने त्रुटिपूर्ण प्रणालीको विकास कांग्रेसले गर्दै आएको छ। यसलाई सच्याउनुपर्छ भन्नेमा म अघि बढेको हुँ।

संगठन भित्रको आन्तरिक लोकतन्त्र सहभागितामूलक छैन। पदाधिकारीको साँघुरो घेरामा पार्टीका महत्वपूर्ण निर्णय गर्ने गलत प्रवृत्ति बढ्दै गयो। आन्तरिक प्रतिस्र्धाको निर्वाचन प्रणाली स्वस्थ नेतृत्वको प्रणालीमा आधरित होइन बल र धन प्रयोगको आधारमा गर्दै जाने प्रवृत्ति तलदेखि माथिसम्म छ।

म कुन टिमबाट उठ्छ् भन्ने स्वार्थबाट मात्रै यी विषय अगाडि बढाउन खोजेको होइन। कुनै टिममा परेपछि मात्रै यी विषय अगाडि बढाउँछु भनेको पनि होइन। टिममा मात्र आश्रित भएर यो विषय अगाडि बढ्ने होइनन्।

मेरो आपत्ति र असहमति यसमै हो। किनकि एकपटक पदमा पुगेपछि सुविधा प्रयोग गर्ने, आफ्नो पदको र कार्यालयको दुरुपयोग गर्ने प्रवृत्ति नेतामा देखियो । यसैले संगठनलाई वैचारिक, नीतिगत प्रष्टता र संगठनलाई चुस्तदुरुस्त बनाउने तथा कार्यक्रमलाई अघि बढाउने प्रण गर्दै म अघि बढेको हुँ।

पार्टीमा नीति र व्यवहारिक समस्या मात्रै हामीले खेपेका छैनौं। राष्ट्रिय संकटका थुप्रै समस्यासँग हामी जुझिरहेका छौं। कोरोनाले ल्याएको संकट, जलवायु परिवर्तनको असर, बेरोजगारी जस्ता थुप्रै समस्या हामीसँग छन्। यिनले भविष्यमा झन् धेरै गहिरा संकट ल्याउनेछन्। समयमा यस्ता समस्याको समाधान गर्न नसक्ने हो भने हामी भविष्यमा पछुताउनेबाहेक अरु केही गर्न सक्दैनौं।

साथै संविधान र प्रणालीको आधारभूत विषय अर्को चासोको क्षेत्र हो। सरकार, संसद्, न्यायपालिका कसरी संकट र समस्यामा छन् भन्ने हामीले केही समययता देखेभोगेका छौं। दुई तिहाईको सरकार नटिक्ने अवस्था हामीले देख्यौं। गठबन्धन सरकारको अभ्यास र यिनमा प्रश्न उठेको छ।

न्यायपालिकामा प्रश्न उठ्ने अवस्था आए। आवधिक निर्वाचन गरेर हामी व्यवस्थित बन्दै जानुपर्नेमा निर्वाचन भएर आएको नेतृत्व पनि सहज अवस्थामा अघि बढ्न सक्ने अवस्था किन आएन ? यी कारणको खोजीको नगरी हामी बल्झिरहने यस्ता समस्याको समाधान गर्न सक्दैनौं। यसैले यस्ता समस्याको समाधान गर्न अरुको तुलनामा कांग्रेस नै अग्रसर हुनुपर्छ भन्ने मेरो मान्यता हो। तर यसको लागि नीतिगत र वैचारिक रुपमा प्रष्ट र व्यवहारिक समाधान दिन सक्ने नेतृत्व आजको आवश्यकता हो।

अर्को हामी दुई छिमेकी मुलुकको बीचमा छौं। हिन्दुस्तान र चीनबीच धेरे विषयमा प्रतिस्पर्धा छ। उनीहरूको प्रतिस्पर्धाको बीचमा पर्ने किचिने जोखिम हामीलाई निरन्तर छ। शक्ति केन्द्रको प्रभावबाट हामी उठ्न सक्नुपर्नेछ। शक्ति केन्द्रको चंगुलमा हामी निरन्तर फस्दै आउने जोखिम पनि उत्तिकै छ। यसमा ध्यान दिन सकेका छैनौं।

अब पनि समयमा ध्यान नदिने हो भने हामी थप अप्ठ्यारोमा पर्नेछौं। यी विषयमा समय सुहाउँदो प्रष्ट दृष्टिकोण अगाडि सारेर जान ढिला भइसकेको छ। यस्ता समस्याबाट पार पाउन सही नेतृत्व र संवाद नै सबैभन्दा ठूलो शक्ति हो। यसमा पार्टीले मात्रै केही गर्न सक्दैन। किनकि पार्टी बाहिर पनि थुप्रै विज्ञ हुनुहुन्छ। उहाँहरूसँग छलफल र संवाद गरेर हर समस्याको समाधानको बाटोमा हामी अघि बढ्न सक्छौं।

म कुन टिमबाट उठ्छ् भन्ने स्वार्थबाट मात्रै यी विषय अगाडि बढाउन खोजेको होइन। कुनै टिममा परेपछि मात्रै यी विषय अगाडि बढाउँछु भनेको पनि होइन। टिममा मात्र आश्रित भएर यो विषय अगाडि बढ्ने होइनन्। निर्वाचत भएर आउने जो सुकै नेतृत्वसँग मैंले उठाएका विषयमा काम गर्न सकिन्छ भन्ने मलाई लागेको छ। कांग्रेसमा पाँच हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि आउँछन्।

त्यहाँ पनि यो विषय उठेन, छलफल गर्ने जमर्को गरिएन भने बाहिर उठाउने ठाउँ छैन। त्यसैले मेरो मुख्य आधार ठाउँ भनेकै पाँच हजार महाधिवेशन प्रतिनिधिको फोरम हो। त्यसैले नेताले भन्नुहुन्छ भन्नेभन्दा पनि पाँच हजार प्रतिनिधिकाबीच म केन्द्रित हुन्छु, छु।