ईलाम कांग्रेसका सभापतिले पार्टी अफिस बनाउन १ करोड दिएपछि यसो भने, यस्ता छन् उनका कुरा

  • प्रकाशित मिति : २०७८ मंसिर १८, शनिबार
  • chhanbin.com

पार्टीको भवन निर्माण गर्न मैले एक करोड दिएँ । साथीहरूबाट ४२ लाख रुपैयाँ उठ्यो । एक करोड ४२ लाख रुपैयाँमा भवन निर्माणका लागि काम सुरु गरियो । यो ठूलो उपलब्धि हुनेछ। अर्को कुरा, नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण आवश्यक छ । त्यसका लागि प्रशिक्षण समिति तयार भयो ।

अधिवेशनमा पराजयपछि रिसाएका साथीहरूलाई प्रदेश र केन्द्रमा उम्मेदवार बनाउन सघाउने काम गरेको छु । यसले पार्टी एकढिक्का बनाउन सहयोग पुग्ने मेरो विश्वास छ । पहिलो चारवटा चिरा पार्टीमा थियो । अहिले दुईवटा मात्रै छ । ५० प्रतिशत गुटबन्दी अन्त्य भइसकेको छ । पार्टीमा अवसर नपाएका र हिजो गुटबन्दीको सिकार हुन परेका साथीहरूलाई अवसर दिने प्रयास हुँदैछ । ‘काखा र पाखा’ गर्दैन भन्ने उहाँहरूलाई पनि लागेको होला र म गर्ने पक्षमा छैन ।

फेरि, म नेतृत्वको इलाम कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा जिल्लाको ६० प्रतिशत वडा र स्थानीय तहमा कांग्रेसलाई जिताउने हो । त्यसतर्फ सम्पूर्ण ध्यान केन्द्रित छ ।

यो जिल्लामा कम्युनिस्टले जितेर केही गर्न सकेन र गर्नेवाला पनि छैन । गर्ने भनेको हामी हो । हामी गर्छौं । जनतालाई यही कुरा भन्छौं र जित्छौं । कम्युनिस्टहरूले सन्दकपुरलगायत क्षेत्रमा सडकसँगै सुकुम्बासीहरूलाई धनीपूर्जा दिने भएका थिए । जिल्लाको विकासका लागि अनेकन सपनाहरू बाँडेका पनि थिए । त्यो पूरा गर्न सकेनन् ।

बरु उल्टै नगरपालिकाहरू कार्यकर्ता भर्ती केन्द्र बनाएको देखियो । भ्रष्टाचार गरेको, बाटाघाटाहरू जीर्ण हुँदा नबनाएको, पशुपतिनगरजस्ता नाकाहरू ठप्प हुँदा केही पहल नगरेको, इलाम बजार सुनसान हुँदा चासो नदिएको जस्ता अवस्थाले जनताको विश्वास उनीहरूले गुमाइसके । जनतालाई ढाँटेको ढाँटेइ गरे । जनतालाई कम्युनिस्टहरूले ढाँटेको भन्छौं ।

हामी उनीहरूले गर्न नसकेका विकास निर्माणका कार्यहरूलाई मजबुतीका साथ गर्न अघि बढ्छौं । विकास निर्माणका काम गर्छौं । त्यसरी हामीले चुनाव जित्ने हो । यसो भन्दै गर्दा पार्टीमा सबैभन्दा पहिले आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ भन्ने लागेको छ । त्यसो गरिए पार्टी मजबुत बन्छ । यसतर्फ मेरो ध्यान गएको छ ।

तर मलाई पैसाको बल निर्वाचन जितेको भन्ने सुन्छु । मलाई कसले पैसा दियो होला र ? मलाई यो आक्षेप लागेको हो । गलत हो । निराधार छ । अहिले करोड दिए पनि नबिक्ने खालका मतदाता छन् । त्यसले गर्दा निर्वाचनमा कसैले पैसाको चलखेल गरेनन् । हामीले त अत्यन्तै कम खर्चमा चुनाव गराएका छौं । सबै साथीभाइ गाडी चढेर निर्वाचनमा आएका छन् । एकै ठाउँमा भात खाएका छौं ।

सभापति, उपसभापति, सचिव, सहसचिव, सदस्य, सँगै महाधिवेशन प्रतिनिधिलगायतको पदमा भएको नोमिनेसनबाट ३० लाख जति उठायौं । साथीहरूलाई भाडा दियौं । भोट हाल्न आएर एकै दिन घर गए । त्यही भएर मैले पैसा खर्च गरेर चुनाव जितेको भन्ने कुरामा पूरापूर सत्यता छैन । बरु मेरा प्रतिस्पर्धी भेषराजजीले अलिक बढी खर्च गरेको सुनें । जे होस्, अब इलाम कांग्रेसलाई अझ सुदृड, अझ बलियो र अझ जनताबीच लोकप्रिय पार्टी बनाउँछौं ।