बागमतीमा गठबन्धन सरकारले एक हप्ताभित्र सरकार विस्तारको तयारी गरेको छ । गठबन्धनमा रहेका चार दललाई सरकारको भागबण्डा मिलाउन मन्त्रालयकाे संख्या १४ पुर्याइएको छ ।
बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए ।
तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारले आफ्नै पार्टीभित्र पनि भागबण्डा मिलाउन सात मन्त्रालयबाट ८ वटा पुर्याएकाे थियो । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन् ।
बागमतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन सरकार छ । गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाउन १४ वटा मन्त्रालय बनाइएको हो । बागमतीको प्रदेश राजपत्रमा कार्यविभाजन नियमावली परिवर्तन गरी मन्त्रालय संख्या १४ वटा पुर्याइएको छ ।
१५ मंसिरकाे मन्त्रिपरिषद्को निर्णयले मन्त्रालयको संख्या १४ पुर्याउने निर्णय गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको थियो । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले हप्ता दिनभित्र सरकार विस्तार हुने जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले हालको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेका छन् ।
उनले हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीनवटा मन्त्रालयमा विभाजन गरेका छन् । अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बन्नेछ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ । बागमतीमा हाल ६ सदस्यीय मन्त्रिपरिषद् छ।
यसअघि मुख्यमन्त्री पाण्डेले आन्तरिक ममिला तथा कानून मन्त्रीमा कृष्ण खनाल, आर्थिक ममिला तथा योजना मन्त्रीमा शालिकराम जम्कट्टेल र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कृष्णलाल भँडेल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त गरेका थिए ।