देउवा-सिटौलाको जुईनो बाँधिने कति छ सम्भावना ? के-के मा मिल्छ कुरा ?

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशन चलिरहँदा फरक–फरक समीकरण बनिरहेका छन्। कांग्रेसमा सक्रिय गुटकाबीचको समीकरणले महाधिवेशनलाई थप रोचक बनाइदिएको छ। वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा बनेका त्यस्ता समीकरणले नतिजा फेरबदल त गराएकै छन्, सँगै केन्द्रीय नेतृत्व चयन गर्ने कुरामा समेत अर्थ राख्ने देखिएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका कार्यक्रम चलिरहँदा धेरै ठाँउमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठजोड भएको छ। जिल्लादेखि प्रदेशसम्म देउवा–सिटौला समूह निकट भएका छन्। कतिपय स्थानमा त उनीहरूको चुनावी साझेदारी परिणाम अपेक्षाकृत नभएको पनि छ।

काठमाडौंका पालिका तहदेखि जिल्ला अधिवेशनसम्म देउवा–सिटौलाको गठजोड बनेको थियो। यद्यपि पूर्वमहामन्त्री प्रकाशमान सिंह र सिटौला समूहबाट बाहिरिएका नेता गगन थापाको समीकरणका अघि देउवा–सिटौला समूह कमजोर देखिन पुग्यो। काभ्रे र बाग्लुङमा देउवा–सिटौलाबीच कार्यगत एकता भएपछि जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ। काभ्रेमा तीर्थ लामा र बाग्लुङमा जितबहादुर शेरचन जिल्ला सभापति बनेका छन्।

देउवा–सिटौलाबीचको सहकार्य जिल्लामा मात्रै सीमित रहेन। प्रदेश अधिवेशनमा पनि पनि यसले निरन्तरता पाउने भएको छ। प्रदेश १ को सभापतिमा सिटौला निकट उद्धव थापालाई देउवा समूहले समर्थन गरेको छ। थापाले संस्थापन इतर पक्षका उम्मेदवार गुरुराज घिमिरेसँग प्रतिस्पर्धा गर्ने भएका छन्। घिमिरे कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष हुन्।

सिटौला समूहले बागमती प्रदेशको सभापतिमा पनि देउवा समूहको समर्थन खोजेको छ। बागमती प्रदेशमा सिटौला समूहबाट भीमसेन दास प्रधान सभापतिको आकांक्षी छन्। देउवा समूहबाट इन्द्र बानियाँ र संस्थापन इतर समूहबाट जगदीशनरसिंह केसी उम्मेदवार छन्। यद्यपि बागमती प्रदेशमा देउवा–सिटौलाबीच सहमति भइहालेको भने छैन।

‘हामी सहमतिको प्रयासमा छौं। भीमसेनदास र इन्द्र बानियाँले अडान छोड्नु भएको छैन। संस्थापन समूहले बानियाँ ‘ब्याक’ हुन नमान्दा समस्या भएको भनिरहेको छ। अन्तिमसम्म सहमतिको प्रयास गरिनेछ,’ सिटौला निकट एक नेताले भने।

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

कांग्रेस महाधिवेशनमा देखिएका यी परिदृश्यले केन्द्रीय नेतृत्व चयनमा समेत ठूलो अर्थ राख्ने सिटौला निकट नेताहरूको विश्लेषण छ। सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

‘१३औं महाधिवेशनमा देउवालाई सघाएकाले आगामी महाधिवेशनमा देउवा–सिटौला समीकरण बन्ने प्रबल सम्भाना छ। महाधिवेशनपछि सिटौला कार्यवाहक सभापति पाउनुहुनेछ,’ प्रधानले पटक-पटक दोहोर्‍याउँदै आएका छन्। र, उनको अभिव्यक्ति र महाधिवेशनमा बन्न सक्ने सम्भावित गठबन्धनको संकेत जिल्ला र प्रदेश अधिवेशनले देखाएको छ।