ओलीले दोश्रो पटक अध्यक्षको पदभार ग्रहण गर्दा सुवास नेम्वाङ हान्निएर किन पुगे झापा ?

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

दोश्रो पटक एमाले अध्यक्ष बनेका केपी ओलीले आज पदभार ग्रहण गरे। दिनको ठिक एक बजे पार्टी मुख्यालयमा ओली पुगेर पदभार ग्रहण गर्दा नवनिर्वाचित १९ पदाधिकारीमध्ये १७ नेता उपस्थित भए। दसौँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओलीको पदभार ग्रहण कार्यक्रममा केहीले चित्त दुखाएर नपुगेको खासखुस चल्दै थियो।

थापाथलीस्थित एमाले केन्द्रीय कार्यालयमा पदभार ग्रहणपछि ओलीको सम्बोधन सकिनासाथ महासचिव शंकर पोखरेलले पदाधिकारीका लागि छुट्ट्याइएका कोठाबारे ब्रिफिङ गरे। पदभार ग्रहण र पत्रकारहरुलाई सम्बोधनपछि ओली केन्द्रीय कार्यालयबाट बाहिरिए।

त्यसपछि अन्य पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम सुरु भयो। अन्य पदाधिकारीका लागि तोकिएको कार्यकक्षमै पुगेर महासचिव शंकर पोखरेलले फूलमाला लगाइदिएर स्वागत गरे।

पदाधिकारीमध्ये यसअघि विदेश विभागको कार्यालय रहेको कक्षमा उपाध्यक्षत्रय रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको कार्यालय तोकिएको छ।

संगठन विभागको कार्यालय रहेको कार्यकक्षमा उपाध्यक्ष हरु सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको कार्यकक्ष बनाइएको छ।तर, उपाध्यक्षको पदभार ग्रहण कार्यक्रममा नेम्वाङ भने देखिएनन्। तीन उपमहासचिवमध्ये पृथ्वीसुब्बा गुरुङ पनि पदभार ग्रहण कार्यक्रममा सहभागी भएनन्।

एमाले कार्यालयमा उपस्थित धेरैका लागि कार्यक्रममा नेम्वाङको अनुपस्थिति चासोको विषय बन्यो। वरिष्ठ उपाध्यक्षमा दावी गरिरहेका नेम्वाङ उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएकाले उपस्थित नभएका हुन् कि भनेर कतिपयले लख काटे।

केन्द्रीय कार्यालयमा पदाधिकारीको पदभार ग्रहणमा अनुपस्थितिबारे चर्चा भइरहँदा नेम्वाङ भने अध्यक्ष ओलीको गृहजिल्ला झापामा थिए।

प्रचार विभाग पूर्व उपप्रमुख एवम् नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अध्यक्ष ओली लगायत पदाधिकारीको पदभार ग्रहण कार्यक्रम अपर्झट गरिएकाले कारण नेम्वाङ उपस्थित हुन नसकेका हुन्। ‘पदभार ग्रहण कार्यक्रम हिजो साँझ मात्रै तय गरिएको थियो, त्यसअघि नै उहाँ झापा जाने कार्यक्रम बनिसकेको रहेछ,’ रिजालले भने, ‘झापामा उहाँको पूर्वनिर्धारित कार्यक्रम रहेकाले थापाथलीमा उपस्थित हुन नसक्नु भएको हो ।’