मरिगए पास गर्नु हुँदैन भन्ने प्रचण्डलाई एमसीसी पास गर्न किन भयो हतारो ? क-कसलाई पर्यो चटारो ?

  • प्रकाशित मिति : २०७८ मंसिर १७, शुक्रबार
  • chhanbin.com

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले बैठकको तयारी सुरु गरेको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अधिवेशनको तयारी गरिएको जानकारी दिए ।

प्रतिनिधिसभाको नवौँ र राष्ट्रिय सभाको दशौँ अधिवेशन गत १२ कात्तिकमा अन्त्य भएको थियो । उक्त अधिवेशन २३ भदौदेखि चलेर १२ कात्तिकमा अन्त्य भएको थियो । अधिवेशन अवधिभर एमालेले दुवै सदनमा विरोध जारी राखेको थियो । मधव नेपालसहित १४ जना सांसद कारबाही प्रकरणमा सभामुख अग्नि प्रसाद सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले सदनमा अवरोध पु¥याएको थियो । अवको अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

सर्वत्र विरोध भइरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई आगामी संसद बैठकमार्फत अगाडी बढाउने सरकारको तयारी छ । सत्ता गठबन्धनका दलहरुबीच पनि एमसीसीबारे एकमत छैन् । अमेरिकी सहायक विदेशमन्त्री डनल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङसहितको उच्चस्तरीय टोलीसंगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय छलफलपछि मात्र एमसीसी पास हुने जवाफ दिएका थिए ।

उनले डिसेम्वर १५ भित्र अमेरीकाले नेपालको जवाफ मागेको जानकारी गराएका थिए । संसद बैठक पनि मंसिर २८ अर्थात डिसेम्बर १४ मै बोलाइएकाले एमसीसी पारित गर्ने सत्ता गठबन्धनको तयारी छ की भन्ने आशंका छ ।

नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने बताउँदै आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै समयमा हस्ताक्षर भएको सम्झौता जसरी पनि पास गर्ने कांग्रेसको तयारी छ । कांग्रेस नेता तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए । कांग्रेस सभापति शेरबहदुर देउवाले एमसीसी नेपालका लागि उपयोगी भएकाले पास गर्नुपर्ने बताउँदै आएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने अभिव्यक्ति दिइरहेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटघाट तिब्र भइरहेको स्रोतले जनाएको छ । एमसीसी पास गर्न भुमिका खेल्न समेत प्रचण्डलाई देउवाले आग्रह गरेको बुझिएको छ । यसअघि कुनैपनि हालतमा एमसीसी पास नगर्ने अडान लिएको माओवादीले पछिल्लो समयमा भने पास गर्न सहमति जनाएको संकेत गरेको छ ।

अध्यक्ष प्रचण्डले सर्वदलीय बैठकबाट यसबारे निर्णय लिने बताउन थालेका छन् । एमसीसी फिर्ता गर्ने आफूहरुको चाहना नरहेको उनको भनाइ छ । सत्ता गठबन्धनमा एमसीसीलाई पास गर्ने सहमति जुटेको बताइएको छ ।

नेपालमा संसद बैठक बोलाइएकै दिन एमसिसी बोर्ड अफ डाइरेक्टर्सको बैठक बोलाइएकाले पनि यो बिषयमा चासो बढेको छ । न्युयोर्कमा बस्ने बैठकका ६ एजेन्डामध्ये तेस्रो नम्बरमा नेपाल छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समयसीमा बुझेर निर्णय लिन दिएको दबाबबीच बोर्ड बैठकमा नेपाल एजेन्डाले प्रवेश पाउन थालेको हो ।

अमेरिकी विदेश सहायकमन्त्री लुले सम्झौता कार्यान्वयनमा नेपाललाई धेरै नपर्खिने सन्देश दिएर गएको झन्डै एक महिनापछि एमसीसी बोर्ड बैठक बस्न थालेको हो । उनी १ मंसिरको साँझ आएर ३ मंसिरको साँझ फर्केका थिए । उनले ३ मंसिरमा पत्रकारहरूसँग ‘नेपालले एमसिसी नचाहे अन्य मुलुकमा लैजाने’ स्पष्ट सन्देश सबै नेताहरूलाई सुनाएको बताएका थिए ।

‘नेपाल चाहन्छ भने एमसीसी भोलिदेखि नै कार्यान्वयनमा आउनेछ, यदि नेपालले चाहेको छैन भने हामी अन्त लैजान्छौँ, यसमा केही छैन,’ लुको भनाइ थियो । एमसीसी नेपालले नलिए पनि नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने पनि उनको भनाइ थियो ।

संसद्बाट एमसीसी पास हुने–नहुने अन्योलमाझ अघिल्लो एमसीसी बोर्डले पूर्वतयारीका काम भने गरिरहेको छ । पूर्वतयारीकै लागि ६ अर्बभन्दा धेरै रकम खर्च भइसकेको छ । नेपाल सरकारले तयारीका क्रममा चार अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ । ‘कन्सल्टेन्ट’का लागि एमसिसीले एक अर्ब ७० करोड रुपैयाँ खर्च गरेको छ ।