सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोलखाको गौरीशंकर गाउँपालिका-१ जुगुका २७ वर्षीय विक्रम कार्की र सोही ठाउँका २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो। उनीहरुलाई आज (बिहीबार) तीनकुने र चुच्चेपाटीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए।
उनीहरुले दोलखाको गौरीशंकर गाउँपालिका-१ जुगुस्थित हिमचुली बहुउदेश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ। सुरक्षागार्ड खड्कालाई कात्तिक १० गते अज्ञात समूहले हत्या गरी सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लुटपाट गरी फरार भएको थियो।
प्रहरी अनुसन्धानका क्रममा उनको हत्या र लुटपाटमा कार्कीद्वयको संलग्नता रहेको खुलेपछि पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ। हत्या गरी लुटपाट गरेको अवस्थामा खड्काको शव कात्तिक १२ गते जुगुस्थित जंगलमा डोरीले हातखुट्टा बाँधेर फालेको अवस्थामा भेटिएको थियो।
पछाडि हात लगेर बाँधेको तथा खादाले मुखसमेत थुनेको र निधारमा चोट लागेको अवस्थामा खड्काको शव भेटिएको थियो। हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको सीआईबीले जानकारी दिएको छ। प्रहरीले उनीहरुको साथबाट मृतकको मोबाइल एक थान, लुटिएकोमध्ये एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ।