कांग्रेसमा किन कहिल्यै हुँदैन एकजुट, महाधिवेशनको मुखैमा कांग्रेसमा पुगे सात गुट

  • प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार
  • chhanbin.com

दुई गुटमा विभक्त कांग्रेसमा १३औं महाधिवेशनपछि एउटा अर्को गुट थपियो। त्यसबेलाका तीन ध्रुव सक्रिय रहेकै अवस्थामा १४औं महाधिवेशनका बेला कांग्रेसमा चार गुट थपिने सम्भावना देखिएको छ। यसरी अबको महाधिवेशनपछि कम्तीमा ७ गुटमा कांग्रेस विभाजनोन्मुख छ।

महाधिवेशनका कार्यक्रम सुरु हुनु अघिसम्म एकै ठाउँ देखिएको संस्थापन इतर समूहले मात्रै कम्तीमा ४ गुट जन्माउने देखिएको छ। महाधिवेशनका हालसम्मका गतिविधि र नेताहरूका अभिव्यक्ति केलाउने हो भने संस्थापन इतर समूहले रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला निकटका गुट बन्ने आकलन गर्ने आधार बनिसकेको छ।

यस्तै कांग्रेसको पछिल्लो सत्तायात्रा अघिसम्म एकजुट रहेको गुटलाई पनि विभक्त गराएर विमलेन्द्र निधिले नयाँ गुटको बीजारोपण गरिसकेका छन्। यद्यपि १४औँ महाधिवेशनमा हुने ध्रुवीकरणले कांग्रेसका गुटहरूको संख्या अझ खुम्च्याउन वा फैलाउन मद्दत गर्न सक्छ।

१४औं महाधिवेशनका कार्यक्रम गरिरहेको नेपाली कांग्रेसले बिहीबार प्रदेश अधिवेशन उद्घाटन गर्दैछ। यसअघि अधिकांश जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्चावन क्षेत्र, पालिका र वडा अधिवेशन सम्पन्न भइसकेकाकाले केन्द्रीय महाधिवेशनको संघारमा पुगिसक्दा नेताहरू भने नयाँ समीरकरण बनाउन र भत्काउन व्यस्त छन्।

आगामी महाधिवेशनबाट छानिने नेतृत्वले चार वर्षसम्म कांग्रेसको बागडोर सम्हाल्ने अवसर पाउने मात्र नभएर देशकै पुरानो राजनीतिक दलको इतिहाससँग पनि जोडिने भएकाले नेताहरूमा नेतृत्व गर्ने आकांक्षा पलाउनु स्वाभाविक हो। तर, यसपटक नेतृत्वमा आकांक्षा राख्ने नेताहरूको संख्या बढेकाले पनि गुटहरूको संख्या पनि त्यही अनुपातमा बढेको हो। नेतृत्व हत्याउने प्रयासमा लागेका नेताहरू क्रियाशील सदस्यता वितरण र वडा तहकै अधिवेशनदेखि नै आफ्ना मान्छे ल्याउन चाहन्छन्। यसैकारण महाधिवेशनका मतदाता रहने क्रियाशील सदस्यताको विवाद लामो समय बल्झिएको थियो।

१४औँ महाधिवेशनमा हुने ध्रुवीकरणले कांग्रेसका गुटहरूको संख्या अझ खुम्च्याउन वा फैलाउन मद्दत गर्न सक्छ। सभापतिका आकांक्षीहरूले वडा तहदेखिकै अधिवेशनलाई सुक्ष्म ढंगले नियालिरहेका छन्, अंक गणितको हिसाबकिताब राखेकै छन्। उनीहरुको सभापति बनेर सानेपा पस्ने इच्छा पूरा गर्ने सन्दर्भमा रणनीति बनाउन सघाउने भएकाले पनि तल्लो तहबाट आउने नेताहरूको अंकगणनामा चासो राख्छन्। हरेक राजनीतिज्ञले पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व गर्ने इच्छा राख्छ नै। पार्टी सत्ताको नेतृत्वमा पुग्ने माध्यम पार्टीको महाधिवेशन हो र पार्टी सत्ता, राज्य सत्तामा पुग्ने माध्यम हो।

अहिले कांग्रेसको विरासत आफ्नो पक्षमा पार्न कस्सिएका ७ जना नेताहरू आफ्नो पक्षमा सक्दो बढी नेता/कार्यकार्ता पार्न लालयित छन्। वर्तमान सभापति शेरबहादुर देउवा पार्टी सत्ता जोगाउने ध्याउन्नमा रहँदा सभापतिका आकांक्षी अन्य नेता भने पार्टी नेतृत्वबाट देउवालाई हटाउन प्रयत्नशील छन्। अहिलेसम्मको स्थितिलाई मूल्यांकन गर्ने हो भने कांग्रेसमा १३औं महाधिवेशनको तुलनामा यसपटक गुटको संख्या दोब्बरभन्दा बढी पुग्ने देखिन्छ।

कांग्रेस इतिहासका जानकार पुरुषोत्तम बस्नेत नेपाली कांग्रेसमा पहिलेदेखि नै गुटहरू रहने गरेको बताउँछन्। ‘कांग्रेसमा मतभिन्नतालाई पनि सम्मान गरिन्थ्यो। मतभिन्नता भएपछि गुट हुनु खासै नौलो होइन। कांग्रेसमा पहिले पनि गुट हुन्थे,’ बस्नेतले भने। उनका अनुसार हालको जस्तो शक्तिमा पुग्नका लागि मात्र पहिले गुट बन्दैनथे। ‘वैचारिक र नीतिगत मतभिन्नताका आधारमा गुट बन्थे। नीतिगत एकता भएपछि कतिपय गुट हराउँथे पनि,’ बस्नेत थप्छन्, ‘अहिलेका गुटमा कुनै वैचारिक कुरा छैन। नीतिगत विषयहरू न त कांग्रेसमा छलफल हुन्छन्। न त वैचारिक/नीतिगत मतभिन्नताका आधारमा नै गुट बन्छन्। बन्छन् त केवल शक्ति प्राप्त गर्न मात्र, आफ्नो शक्ति भजाउन मात्र। यस्ता गुटले कांग्रेसको सांगठनिक स्वास्थ्यलाई फाइदा गर्दैन।’

सतहमा सभापतिका आकांक्षीपिच्छेका ७ गुट देखिएपनि कांग्रेसमा यो भन्दा धेरै संख्यामा शक्ति-समूह सक्रिय छन्। यी शक्ति-समूह पनि छोटो समयमा पनि अदलबदल भइरहन्छन्। कति बेला कुन गुट कता पुग्छ धेरै कांग्रेसी नेतालाई नै पनि पत्तो हुँदैन, नेताको पहुँचमा नभएको गुट अदलीबदलीको सूचना तल्लो तहका कार्यकर्ता र आम नागरिकलाई हुने कुरा भएन। त्यसैले कांग्रेस वृत्तमा धेरैले भन्ने गर्छन्- कांग्रेस पार्टी गुटहरूको महासंघ हो।

गुटहरू पनि उपगुटको जालोभित्र छन्। १४औं महाधिवेशनमा गुटको रुपमा उदाउने तयारीमा छन्। उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला गुट निर्माणमा खटिएर लागेका नेताहरू हुन्। उनीहरूले विभिन्न उपगुटहरूलाई निकट बनाउने प्रयास गरिरहेका छन्।

निधि लामो समय देउवा समूहमा सक्रिय रहँदै आएका नेता हुन्। तर, १४औं महाधिवेशनमा सभापति लड्ने उनको घोषणा गरेका छन्। त्यही घोषणाले उनको देउवासँग सम्बन्ध चिसिएको छ। निधिले सभापति लड्ने तयारीस्वरुप सम्पर्क कार्यालय मात्र खोलेका छैनन्, घोषणा पात्र नै सार्वजनिक गरिसकेका छन्।

र, उनले १४औं महाधिवेशनमा प्यानलसहित मनोनयन दर्ता गर्ने सार्वजनिक घोषणा गर्ने गरेका छन्। उनी अहिले देउवा पक्षकै विभिन्न क्लस्टरमा रहेका नेताहरूलाई तान्ने प्रयासमा छन्। खासगरी सभापति देउवाले आफ्नो टिम बनाउँदा असन्तुष्ट भएका नेताहरुको क्लस्टरलाई आफ्नो गुटमा ल्याउने प्रयासमा छन्। केही नेताहरूलाई निधिले आफ्नो पक्षमा ल्याइसकेको चर्चा कांग्रेसमा हुने गरेको छ।

गुटहरू पनि उपगुटको जालोभित्र छन्। १४औं महाधिवेशनमा गुटको रुपमा उदाउने तयारीमा छन्। संस्थापन इतर समूहमा ‘तितरवितर’को अवस्था भएको माथि नै उल्लेख भइसकेको छ। संस्थापन इतर समूहको नेतृत्व वरिष्ठ नेता पौडेलले गरेका छन्। तर, त्यो समूहसँग सम्बन्धविच्छेद गर्ने कसरत पूर्वमहामन्त्रीले सिंहले गरिरहेका छन्। सार्वजनिक रुपमा उनले इतर समूहका नेता पौडेल र महामन्त्री शशांक कोइरालाविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

उनले पौडेलका बारेमा भनेका छन्, ‘उहाँ (पौडेल) शेरबहादुर दाइको कार्यकर्ता बन्नुभयो, त्यसैले अब नेता मान्दिनँ। म आफैं सभापति लडछु।’ त्यसो त उनलाई फकाउने प्रयासमा संस्थापन इतर समूहबाट सभापतिका आकांक्षी रहेका नेताहरूले गरेका छन्। तर, सिंह पछि फर्कने अवस्थामा नरहेको उनी निकट स्रोत बताउँछ। उनले सभापति लड्ने तयारी अघि बढाएका छन्। उनले पछिल्लो समय दिएका अभिव्यक्ति र उनका गतिविधिले त्यसकै संकेत गर्छ।

सिंहले सम्पादकहरुसँग अन्तरक्रिया गरेर भनेका छन्, ‘मरेँ भने हो पार्टी सभापतिमा मेरो उम्मेदवारी नपर्ने। नभए उम्मेदवारी त पर्यो पर्‍यो।’ उनले पार्टी शुद्धीकरण र सुदृढीकरणको अभियानमा साथ दिनेहरुसँग सहकार्य हुने बताएका छन्। तर, नेतृत्व छोडेर कसैसँग सहकार्य नगर्ने उनको भनाइ छ। ‘नेतृत्व छोडेर कसैसँग सहकार्य हुँदैन र उहाँ टिम बनाउने प्रयासमा हुनुहुन्छ,’ सिंहको सचिवालय भन्छ।

त्यसो त संस्थापन इतर समूहबाटै सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका शेखर कोइराला पनि टिम बनाउन बलियो उपगुटको खोजीमा छन्। खासगरी युवा नेताहरुको समर्थन जुटाएर अघि बढ्ने योजना उनको छ। सके संस्थापन इतर समूहबाटै साझा उम्मेदवार बन्ने नसके टिम (गुट) बनाएर अघि बढ्ने योजना शेखरको छ। सभापतिको दौडमा रहेका सबैले उपगुटहरूलाई प्रभावित गरी आफ्नो पक्षमा ल्याउने योजनामा छन्।

अहिलेको नेपाली कांग्रेसको स्थापना नै दुई फरक पार्टीको एकतापछि भएको हो। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकृत रूप हो, आजको नेपाली कांग्रेस। त्यसैले स्थापनाकालदेखि नै कांग्रेस गुटगत राजनीतिबाट अछुतो रहन सकेन।

नेपाली कांग्रेसको पाचौँ महाधिवेशन २००९ जेठ १० गतेदेखि जनकपुरमा सुरु हुने निर्धारण गरिएको थियो। त्यसबेला पनि कांग्रेसमा गुटहरू क्रियाशील थिए भन्ने विषय पुरुषोत्तम बस्नेतले उल्लेख गरेका छन्। ‘मन्त्री सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र अन्य केही मन्त्रीहरू जेठ ८ गते जनकपुर पुगेका थिए। त्यसै दिन मन्त्री (तत्कालीन सरकारका यातायात तथा वनमन्त्री) भद्रकाली मिश्र पनि जनकुपर पुगेका थिए। तर उनी महाधिवेशन सम्पन्न गराउन होइन, त्यसलाई बिथोल्न र असफल पार्न त्यहाँ पुगेका थिए,’ बस्नेतको पुस्तक नेपाली कांग्रेसको इतिहासको प्रारूपमा उल्लेख छ (पृ सं ४५२)।

महामन्त्री कृष्णप्रसाद भट्टराईले प्रतिवेदन प्रस्तुत गर्न लाग्दा मिश्रले ६ महिनापछि मात्र महाधिवेशन गराइयोस् भनेर प्रस्ताव लगेका थिए। ‘उनले हिन्दीमा तयार पारिएको कांग्रेसको प्रस्तावित विधान पनि वितरण गरे। यसमा निकै विवाद र प्रतिवाद भयो। महाधिवेशन तत्काल गर्ने र नगर्ने दुई समूहमा नेपाली कांग्रेसलाई विभाजन गर्न खोजियो। आफ्नो प्रस्तावलाई टुंगोमा नपुर्‍याई कार्यक्रम अगाडि बढाउन पाइन्न भनेर मिश्रले कडा अडान लिए। पण्डालभित्रै बन्दसत्रमा आपसमा हात हालहाल भयो,’ बस्नेतले भने। पछि मिश्रलाई कारबाही गरिएको थियो।

कांग्रेसलाई गुटगत अभ्यास/प्रतिस्पर्धाले छोडेको छैन। कांग्रेसका संस्थापक बीपी-मातृकाबीचको टकराव होस् वा बीपी–सुवर्ण शमशेरबीचको अन्तरसंघर्ष नै किन नहोस्, त्यो गुटगत राजनीतिको परिणाम थियो। बीपीको निधनपछि पनि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले दुई गुटको नेतृत्व गरिरहे। पछि गिरिजाप्रसाद र शेबहादुर देउवा हुँदै सुशील कोइराला र देउवा गुट कांग्रेसमा सक्रिय हुन पुगे। १३औं महाधिवेशनयता देउवा र रामचन्द्र पौडेल गुट मात्रै रहन सकेन। र, पौडेल गुट फुटेर ‘तेस्रो धार’का नाममा सिटौलाले छुट्टै गुट जन्माएका थिए।