नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्।
उनले सहमतिका लागि वातावरण बने आफू लचिलो बन्न उदार रहेको उल्लेख गरेकी छन्। ‘मैले त बारम्बार भन्दै आएकी छु। सबै उठेर पनि हुँदैन’, नेतृ कोइरालाले भनिन्, ‘कस्तो वातावरण बन्छ, त्यसपछि मैले निर्णय गर्नेछु।’
गृह जिल्ला मोरङमा उनले सभापतिका लागि दावेदारीको घोषणा गरेकी थिइन्। प्रदेश अधिवेशनले संघीयतालाई बलियो बनाउनेतर्फ इंगित गर्दै उनले अधिवेशनमा पार्टीकै सबैजना उम्मेदवार रहने हुँदा यही नै हुनुपर्छ भन्नेतर्फ ध्यान नगएको बताइन्।