नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । देश संघीय निर्वाचन प्रणालीमा प्रवेश गरेसँगै कांग्रेसले प्रदेशस्तरमा पहिलो पटक अधिवेशन गर्न थालेको हो।
सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने छ। त्यसका लागि सबै तयारी पूरा भएको कांग्रेस महााधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए । उनका अनुसार आज सुदूरपशिचमका सात पहाडी जिल्लाबाट आउने प्रतिनिधिको रजिष्टेसन सुरु हुने छ। शुक्रबार मनोनय दर्ता, मनोनयन फिर्ता तथा सहमतिका लागि प्रयास गरिने छ । सहमति नभएमा शुक्रबार बिहानबाट मतदान सुरु हुने छ ।
प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ ।
कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमितिसमेत गठन गरिएको छ ।
प्रदेश सभापतिका लागि पाँच नेताले गरे उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले दाबेदारी पेस गरेका छन्। उम्मेदवारी पेस गर्ने पाँचै जना कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा प्यानलका हुन्।
प्रदेश सभापति दावी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिमबहादुर रावल, बझाङका अर्जुनजंगबहादुर सिंह, अछामका गोविन्दबहादुर शाह र नेविसंघका पूर्वउपाध्यक्ष एवं डोटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित पुष्पकुमार शाही छन्।
दुई पटक कैलालीको पार्टी सभापति भइसकेका मनु आफूलाई प्रदेशको स्वाभाविक दावेदार ठान्छन् । विचार र सिद्धान्तका बारेमा प्रशिक्षण सञ्चालन गरेर प्रशिक्षित पार्टी पंक्ति तयार पार्ने लक्ष्य रहेको बताउँदै आएका मनु आफ्नो जीत स्वाभाविक भएको दाबी गरिरहेका छन् ।
दुई पटक बझाङ पार्टी सभापति, राज्यमन्त्री र राजदूत भइसकेका सभापतिका अर्का दाबेदार अर्जुनबहादुर सिंहले प्रदेशभर कांग्रेसलाई एकताबद्ध बनाई पहिलो शक्ति बनाउन सभापतिमा दाबी गरेको बताए।
‘पार्टीमा मेराे लामो योगदान र संगठन निर्माणमा अनुभव छ,’ उनले भने, ‘त्यसैले म सक्षम उम्मेदवार हुँ, सबैले मलाई सहयोग गर्नेमा विश्वस्त छु।’ मतदातहरूको सल्लाहमा नै चुनाव लड्न लागेको उनि बताउँछन्।
नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष भइसकेका डोटीका पुष्ककुमार शाहीले पनि कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा दाबी गरेका छन्। उनले सुदूरपश्चिममा सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्यसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
अछामबाट दुई पटक सांसद बनेका गोविन्द शाहले पनि प्रदेश सभापतिमा दाबी गरेका छन्। उनले कांग्रेसको विचार र सिद्धान्तलाई जनतामाझ पुर्याउने र पार्टीलाई बलियो बनाउन उम्मेदवारी दिने बताए।
सबैको सल्लाहमा सभापतिको उम्मेदवारी घोषणा गरेको बताउने शाहले विचार र सिद्धान्तको छलफल सुरु गर्ने र पार्टीमा मूल्यांकनको परिपाटी सुरुआत गर्ने बताए । शाह नेपाल सरकारका सञ्चार राज्यमन्त्रीसमेत भइसकेका छन्।
कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले पनि प्रदेश भापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। रावलले आफू सभापति बनेमा कांग्रेसका आमकार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने योजना रहेको बताएका छन्।
कर्मभूमि समाजमार्फत पार्टीका कार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने लक्ष्य रहेको भन्दै उनले सांगठनिक रूपमा सशक्त, कार्यकर्तालाई उद्यमशिलतासँग जोड्दै पार्टीलाई सक्रिय बनाउने योजना रहेको बताए।