कांग्रेस बागमती प्रदेशको सभापति हत्याउन तीन भाई मैदानमा, कसले मार्छ बाजी ?

  • प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशन हेटौँडामा सुरु हुँदैछ । १८ मंसिरसम्म हेटौँडा–१० वनविज्ञान अध्ययन संस्थानमा हुने प्रदेश अधिवेशनमा कांग्रेसभित्रको तीन समूहले आ–आफ्नो उम्मेदवार उठाउने निर्णय गरेका छन् । प्रदेश सभापतिमा त्रीपक्षीय भिडन्त हुने देखिन्छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट मकवानपुरका पार्टी सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बुधबार साँझ उम्मेदवारी घोषणा गरे । कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले पनि यसअघि नै प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका थिए ।

कांग्रेसभित्र देउवा र सिटौलाको अहिले एउटै समूह बने पनि प्रदेश सभापतिमा आ–आफ्नै उम्मेदवार उठाएका छन् । प्रदेश अधिवेशनमा सभापतिका उम्मेदवार घोषणा गरेका प्रधान र बानियाँसहित संस्थापन इतर समूहका गरेर सभापतिमा करिब आधा दर्जन नेता आकांक्षी थिए । प्रधानले उम्मेदवारी घोषणा गरेपछि देउवा समूहबाट आधिकारिक उम्मेदवार कस्ले पाउने भन्नैमै उनी र बानियाँबीच रस्साकस्सी चल्यो ।

यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसी साझा उम्मेदवार बन्ने भएका छन् । उनी कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन् । पौडेल समूहमा प्रदेश सभापतिको आकांक्षी धेरै भएपछि साझा उम्मेदवार बनाउन सकस परेको थियो । बागमतीमा उम्मेदवार छान्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रामशरण महत र अर्जुननरसिंह केसीलाई जिम्मेवारी दिइएको थियो ।

प्रदेश सभापतिमा पौडेल पक्षबाट नुवाकोटका केसीसहित काभ्रेका मधु आचार्य, काठमाडौंका राजुराज जोशी, सिन्धुलीका मोहन बराल, चितवनका रामकृष्ण घिमिरे आकांक्षी थिए । आजदेखि तीन दिनसम्म चल्ने प्रदेश अधिवेशनले सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री निर्वाचित गर्नेछ । महामन्त्रीमा कांग्रेस मकवानपुरका पूर्वसभापति पौडेल पक्षका माइकल रामचन्द्र अर्यालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अधिवेशनबाट प्रत्यक्ष निर्वाचित, समावेशी र समानुपातिक आधारमा कार्यसमिति सदस्यहरु चयन गर्नेछ । कांग्रेसको विधान अनुसार प्रदेश कार्यसमितिमा निर्वाचित सदस्यहरूबाट एक जना कोषाध्यक्षको निर्वाचन हुनेछ । अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि, केन्द्रीय अधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, जिल्ला सभापतिलगायतका गरी करिब २ हजार १ सयको हाराहारीमा प्रतिनिधि छन् ।