वकिलले इजलासमै गएर आजको प्रधानन्यायाधीश को हो ? भनेपछि न्यायाधिशको गयो सातो

  • प्रकाशित मिति : २०७८ मंसिर १६, बिहीबार
  • chhanbin.com

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कायममुकायम नदिएको विषयलाई लिएर बिहीबार सर्वोच्चमा पेशी तोक्ने प्रक्रिया नै प्रभावित भएको छ। प्रधानन्यायाधीश राणा बिरामी भएर अस्पताल भर्ना भए पनि कायममुकायम नदिएपछि न्यायाधीशले पेशीका लागि गोला नतानेका हुन्।

यसअघि बुधबार भने न्यायाधीशले गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियाको सुरु गरेका थिए। गोलाबाटै इजलास गठन र मुद्दाको पेशी तोकेर सुनुवाइ गरेका न्यायाधीशलाई नेपाल बारका पदाधिकारीले इजलासमै गएर आजको प्रधानन्यायाधीश को हो? भन्दै प्रश्न गरेपछि इजलास स्थगित गरेका थिए।

बिहीबार प्रधानन्यायाधीशलाई कायममुकायम दिन समन्वय गर्ने भनिएपनि प्रधानन्यायाधीश राणाले अझै कायममुकायम तोकेका छैनन्। प्रधानन्यायाधीश आफू पनि उपस्थित नभएको र कायममुकायम पनि नदिएको भन्दै न्यायाधीशहरु इजलास गठन र मुद्दाको पेशी तोक्ने प्रक्रियामा सहभागी नहुँदा सर्वोच्चमा बिहीबार इजलास गठन हुने नहुने भन्ने नै अलमल भएको हो।

न्यायाधीश र वकिलले कायममुकायम दिनुपर्ने अडान राखेका छन्। यस्तै सत्ता गठबन्धनले पनि कायमुकायम तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ। संविधान अनुसार प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम दिन सक्नेछन्।

कोरोना संक्रमणका कारण गत सोमबारदेखि प्रधानन्यायाधीश राणाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गोला प्रक्रियाबाट पेशी तोक्ने व्यवस्थासम्बन्धी कार्यविधि निर्देशिका अनुसार बिहान १० बजे नै न्यायाधीशहरुले गोला तान्ने उल्लेख छ। दैनिक पेशी सूची बिहान साढे १० बजेभित्र वेबसाइटमा प्रकाशित हुने भनिए पनि अझै गरिएको छैन। अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा छन्।