प्रकाशमान र गगन मिल्दा काठमाडौँ कांग्रेसका सभापति यसरी देखिए झन् दह्रो

  • प्रकाशित मिति : २०७८ मंसिर १५, बुधबार
  • chhanbin.com

कांग्रेसमा शेरबहादुर देउवा दोस्रोपल्ट सभापति लड्ने दाउमा छन् । तेह्रौँ महाधिवेशनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतले हराएर सभापति चुनिएका देउवालाई चाैधाैँ महाधिवेशन भने त्यति सजिलो देखिँदैन । तुलनात्मक रूपमा बलियाे भए पनि संस्थापनइतर पक्ष एक ठाउँमा उभिँदा देउवालाई मुस्किल पर्ने देखिन्छ । कांग्रेसभित्र बहुसमूहबीच प्रतिस्पर्धा छ ।

काठमाडौंमा प्रकाशमान सिंह र गगन थापा मिल्दा देउवा पक्ष निकै कमजोर देखियो । देउवा र कृष्ण सिटौला समर्थित उपेन्द्र कार्कीको प्यानललाई प्रकाशमान-गगन गठबन्धनका कृष्णसबुज बानियाँले सभापतिमा नमिठोसँग हराए । बनियाँले १९५७ मत पाउँदा कार्कीले १०८९ मत पाए । जबकि, काठमाडौंको मतपरिणाम आफ्नो पक्षमा पार्न देउवाले ठूलै जोडबल गरेका थिए ।

रोचक त के भने, १३औँ महाधिवेशनमा काठमाडौं सभापति बनाउन सबुजलाई देउवा समूहको साथ थियो । त्यो बेला काठमाडौंमा देउवा र सिंहको गठबन्धनबाट सबुजले भीमसेन दास प्रधानलाई हराएका थिए । तेह्राैँ महाधिवेशनमा गगन थापा सिटौला समूहमा थिए । काठमाडौंबासी प्रकाशमानले यसपालि गगनको साथ लिएर देउवालाई चुनौती दिएका हुन् । काठमाडौं देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २ सय ५० भन्दा बढी महाधिवेशन प्रतिनिधि चुनिन्छन् । यहाँका सबैजसो निर्वाचन क्षेत्रमा प्रकाशमान र गगनले समर्थन गरेका उम्मेदवारले बाजी मारेका छन् ।

१३औँ महाधिवेशनमा ‘हेभी वेट’ मानिने भीमसेनदासलाई हराउँदा सबुज थोरै मतान्तरले सभापतिमा विजयी हुने नेताहरूको सूचीमा थिए । यसपालि सबुजले प्रधानसँग चुनाव त लड्नु परेन । तर, उनले प्रधान, पार्टी सभापति देउवा, कृष्ण सिटौलाले समर्थन गरेका प्रतिस्पर्धीको सामना गरे । र, पार्टी सभापतिले आफूइतर एक पक्षसमेतको समर्थन लिएर उठाएका उम्मेदवारलाई सबुजले भारी मतान्तरले हराइदिए । १३औँ महाधिवेशनमा झिनो मतले जिल्लाको नेतृत्व पाएका सबुजले यसपालि नौ सय मतका साथ सभापतिको खादा ओढे । यसरी उनले थप शक्तिसहित जिल्ला सभापति कुर्सीकाे रक्षा गरेका छन् ।

सबुज यसअघि पनि काठमाडौं कांग्रेसका सभापति नै थिए । अघिल्लो महाधिवेशनमा देउवाको साथ पाए पनि खासमा उनी प्रकाशमानकै मान्छे हुन् । उनले प्रकाशमानसँग लामो समय काम गरेका छन् । प्रकाशमान जिल्ला सभापति हुँदा सबुज जिल्ला सदस्य थिए ।