भीम रावललाई पछार्दै केपी ओली बने एमाले अध्यक्ष, यस्तो छ उनको राजनीतिक यात्रा

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगद्वारा प्राप्त परिणाम अनुसार ओलीले १८४० मत पाएका छन् भने रावलले २२० मत पाएका छन्। जम्मा २१५३ मतदातामध्ये २०९६ जनाले मत दिएका थिए। जसमध्ये ३६ जनाले अध्यक्षका कुनै पनि उम्मेदवारलाई मत दिएनन्।

उनी एमालेमा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।

मंसिर १० देखि १२ गतेसम्म चल्ने भनिएको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा सर्वसहमति नभएपछि थप दुई दिन लम्बिएको थियो। लामो मतभेदपछि केही पदमा सर्वसहमति गर्दै अध्यक्ष, उपाध्यक्ष, सहसचिव र खुलातर्फको केद्रीय सदस्यमा निर्वाचन भएको थियो। सोमबार अबेर रात सुरु भएको मतदान मंगलबार बिहानसम्म चलेको थियो।

को हुन् ओली ?

विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए उनी, त्यही वर्ष उनी जेलसमेत परेका थिए।

ओली तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन्। दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए।

ओलीकाे राजनीतिक यात्राः

२०२६ माघ : नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त ।

२०२७ जेठ ९ : भूमिगत जीवन सुरु ।

२०२७ फागुन १६ : झापामा पहिलो पटक गिरफ्तार

२०२८ : झापा आन्दोलन संगठन कमिटीको प्रमुख

२०३० असोज २३ : राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुटा आरोपमा गिरफ्तार, ४ वर्ष गोलघरसहित १४ वर्ष जेलसजाय ।

२०३५ पुस ११ : जेलमै रहँदा नेकपा मालेको संस्थापक नेता

२०४४ असार ११: जेलबाट रिहा

२०४४ पुस : केन्द्रीय सदस्य मनोनयन

२०४७ जेठ १ : प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, संस्थापक अध्यक्ष

२०५० : पोलिटब्युरो सदस्य निर्वाचित

२०५१ : पार्टी संसदीय विभागको प्रमुख

२०५६–२०५९: संसद्‌मा प्रमुख प्रतिपक्षी दलको उपनेता

२०५९ माघ : सातौँ महाधिवेशनमा पार्टीको आन्तरिक लोकतन्त्रीकरण र बहुपदीय प्रणालीको प्रस्ताव पेस, स्थगित

२०६५–६६ : केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख

२०६५ : आठौँ महाधिवेशनमा आन्तरिक लोकतन्त्रीकरण र बहुपदीय प्रणालीको प्रस्ताव स्वीकृत, अध्यक्षमा पराजित

२०७० माघ २१ : व्यवस्थापिका संसद्‌को दलका नेता

२०७१ साउन १ : नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित ।

२०७२ असोज २४ : पहिलो पटक प्रधानमन्त्री

२०७४ फागुन ३– २०७८ असार २९ : प्रधानमन्त्री

२०७५ जेठ ३ : एमाले–माओवादी केन्द्र एकता, अध्यक्ष

२०७८ मंसिर १४ : दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित ।