चरम तरलता अभाव भएकै बेला डेढ महिनामै कसले झिक्यो बैंकमा राखेको ५० अर्ब ?

  • प्रकाशित मिति : २०७८ मंसिर १४, मंगलवार
  • chhanbin.com

पछिल्लो समय वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रम जारी छ । कात्तिक यता लगातार घट्न थालेको निक्षेप अझै बढ्न नसकेको हो । चरम तरलता अभाव झेलिरहेका बैंकहरु भएकै निक्षेप पनि घट्न थालेपछि झनै समस्यामा परेका छन् ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार डेढ महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ५० अर्ब रुपैयाँले घटेको छ । गत असोज मसान्तसम्म कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको दोस्रो सातासम्म ४२ खर्ब १९ अर्बमा सीमित भएको छ ।

मंसिरको दोस्रो सातमा मात्रै निक्षेप ७ अर्बले घटेको संघले जनाएको छ । सङ्घका अनुसार यही मङ्सिर ३ गते ४२ खर्ब २६ अर्ब रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्बमा सीमित भएको छ ।

पछिल्लो समय नेपाल आयल निगमले तेल किन्न एकैपटक ठूलो रकम झिकेकाले निक्षेप बाहिरिएको बैंकरहरु बताउँछन् । त्यस्तै, चाडवाड सकिएकाले यसअघि बैंकका पैसा राखेकाहरुले पनि व्यापार व्यवसाय गर्न पैसा झिकेको अनुमान गरिएको छ ।

यस्तै मङ्सिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै १४ अर्ब बराबरको कर्जा लगानी भएको देखिन्छ ।

गत साउन पहिलो साता ४१ खर्ब ५८ बराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४१ खर्ब १९ अर्बमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा रु ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

गत असोज ३१ गतेसम्म सबैभन्दा बढी ४२ खर्ब ६९ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।