देउवा सरकारले एकै लट १० भाई सचिवको गर्यो सरूवा, को कहाँ बाट कहाँ पुगे ? (सुची सहित)

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

कर्मचारी सरुवामा अरु सरकार भन्दा दुई कदम अगाडी देउवा सरकारले आज फेरी दश सचिवको सरुवा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गरेको हो। जस अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ भने सामान्य प्रशासनमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारी आएका छन् । अधिकारी सहसचिव हुँदा लामो समय सोही मन्त्रालयमा थिए। अर्याल र अधिकारी दुवै एमाले निकट सचिव भएको बताइन्छ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने पर्यटनमा पठाइएका छन् । न्यौपाने गृह सचिव हुनु अघि सोही मन्त्रालयका सचिव थिए। सहरी मन्त्रालयका विवादित सचिव रमेश सिंहलाई अतिरिक्त(जगेडा)मा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा ल्याइएको छ । प्राविधिक क्षेत्रको राम्रो अनुभव सम्हालेका सचिव गेलाल पनि काम गर्ने सचिवका रुपमा चिनिन्छन् । उनी भवन निर्माण बिभागका महानिर्देशक भएका व्यक्ति हुन्।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि(शिक्षा) सचिव राम प्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ ।