कराँतेको ब्ल्याकबेल्ट १९ वर्षीया करिना यसरी बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि, कति ल्याईन् मत ?

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

सिन्धुपाल्चोककी १९ वर्षीया किशोरी करिना पुरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएकी छिन्। उनी कांग्रेसका ‘हस्ती’ नेताहरूलाई पछि पार्दै महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी हुन्।

महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएकी हुन्। कांग्रेसको निर्वाचनमा पहिलो पटक उठेर उनी महाधिवेशन प्रतिनिधि हुन सफल भएकी हुन्।

‘अग्रजहरुले सम्मान र माया गरेर मलाई जिताउनु भएको छ,’ उनले भनिन्, ‘मैले पनि कांग्रेसका लागि योगदान दिनुपर्ने जिम्मेवारी थपिएको अनुभव गरेको छु।’ अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने हुनुपर्ने उनको भनाइ छ।

कांग्रेसको नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्ने भएकाले अब युवा र सक्षमहरुको पार्टी बनाउनुपर्ने उनले बताइन्। ‘अब नेपाली कांग्रेसको नयाँ नेतृत्व छनोट हाम्रो मुख्य जिम्मेवारी हो। हामी जस्ता युवा र हाम्रा अभिभावक पुस्ताको अनुभव मिश्रित गरेर अघि बढ्नुपर्छ।’

खुलातर्फ महिला क्लस्टरमा उम्मेदवार बनेकी उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन्। उनले पाएको मत सबैभन्दा धेरै हो।

नेविसंघबाट भर्खरै राजनीति सुरुवात गरेकी करिना कराँते खेलाडीसमेत हुन्। कानुन विषयमा स्नातक अध्ययनरत उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय छिन्। आफ्नो गाउँ गएर निर्वाचनमा उम्मेदवार बनेको भने पहिलो पटक हो।

उनले जिल्लामा लामो समय राजनीति गरेका हस्तीहरुलाई समेत उछिनेर महाधिवेशन प्रतिनिधि हुन सफल भइन्। महिला खुल्लातर्फ चार जना प्रतिनिधिका लागि सात जना प्रतिस्पर्धी थिए। उमेर र राजनीतिक अनुभवका हिसाबले अन्य उम्मेदवार उनीभन्दा अनुभवी थिए। तर, उनले सबैभन्दा धेरै मत पाइन्।

अन्य क्लष्टरमा उम्मेदवार भएका कांग्रेसका हस्तीहरु पराजित हुँदा अहिले उनको चर्चा चुलिएको छ। महाधिवेशन प्रतिनिधिमा पूर्व क्षेत्रिय अध्यक्ष बद्रीप्रसाद चौलागाईं, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, कांग्रेस जिल्ला सह–सचिव अनुप न्यौपानेसमेत पराजित भएका छन्।
नेपाली कांग्रेसलगायत सबै पार्टीमा प्रायः एकै जनाले नेतृत्व ओगटिरहने परिपाटी उनलाई मन परेको छैन। ‘मैले सानोमा रेडियो सुन्दा पनि तिनै नेता थिए, अहिले पनि उनै अध्यक्ष र अन्य पदमा भएको सुन्छु,’ उनले भनिन्, ‘अहिले म आफैं राजनीतिमा संलग्न हुँदा पनि तिनै नेता शीर्ष तहमा छन्।’ यही कुराले आफूलाई राजनीतिमा आउन प्रेरणा दिएको उनको भनाई छ।

‘युवा पुस्ता खै अगाडि बढेको? खै मौका दिएको?’ भन्ने चर्चा भइरहँदा आफूलाई अगाडि बढ्न हौसला मिलेको उनले बताइन्। राजनीतिमा अघि बढ्न घर परिवारले पनि सहयोग गरेको उनको भनाइ छ।
अब नेतृत्व परिवर्तन गर्ने जिम्मेवारी पनि युवा पुस्तामै आएको उनलाई लागेको छ। ‘म युवा पुस्तालाई नै नेतृत्वमा देख्न चाहन्छु र देशभरका युवा प्रतिनिधिलाई पनि यही आह्वान गर्दछु,’ उनले भनिन्।

महाधिवेशन प्रतिनिधि बन्न पुराना नेताले नै चाहना राख्ने हुँदा उनलाई मुस्किल थियो। तर, उनले हिम्मत गरिन्। आफ्नो विचार स्पष्ट राखिन्। शुरुमा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध भएपछि उनलाई आत्मविश्वास आयो।

‘मलाई मेरो अभिभावक र साथीहरुले महाधिवेशन प्रतिनिधिको तयारीमा लाग्न हौसाए,’ उनले भनिन्, ‘तयारी गर्दै गएँ, तर कतिपय अग्रजहरुले यसपालि निर्वाचनमा उम्मेदवार नबन्न पनि दबाब दिएका थिए। मैले त्यो दबाब पन्छाएँ।’

कराँतेको ब्ल्याकबेल्ट करिनाले इन्डोनेसियामा भएको एसियन गुजोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। मलेसियामा भएको प्रतियोगितामा रजत र कांस्य पदक जितेकी छन्। यस्तै बंगलादेशमा भएको प्रतियोगितामा उनले कांस्य पदक जितेर आफ्नो पहिचान खेल क्षेत्रमा पनि स्थापित गरिसकेकी छन्।

२०५८ माघमा सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी करिनाले कक्षा १० सम्मको अध्ययन स्थानीय जनता माविबाट गरेकी हुन्।