नेकपा (एमाले)को १०औं महाधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका र बन्दसत्र हलबाट अनुमोदित भएका उम्मेदवारले मनोनयन दर्ता नगर्दा प्रदेश २ बाट वागी उम्मेदवारी दिएका अरविन्द सिंह एमालेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
सिंह प्रदेश २ को खुला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। प्रदेश २ का खुला (पुरुष) केन्द्रीय सदस्यको छ जनाको सूचीमा छ जनाको मात्र मनोनयन दर्ता भएपछि सिंह निर्विरोध निर्वाचित भएका हुन्।
एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार प्रदेश २ को खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नेहरु सिंहसहित उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल छन्। उनीहरु सबै निर्विरोध भएका छन्। ओलीले प्रस्ताव गरेको सूचीमा भने प्रभु साह, राम दयाल मण्डल, महम्मद समिर, लिलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान थिए।
तर, उनीहरुमध्ये मण्डल, समिर र पासवानले सोमबार मनोनयन नै दर्ता गरेनन्।
वागी उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका सिंह घनश्याम भुसालनिकट हुन्। उनी नवौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए।