खेलकुद परिषद्को सदस्य सचिवमा माओवादी नेता घिसिङ नियुक्त

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको सरकारले घिसिङलाई नियुक्त गरेको हो ।

घिसिङ नेपाल रग्बी संघका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य हुन् ।

खेलकुद मन्त्रालयले सदस्य सचिवको लागि भन्दै शुक्रबारसम्मको समय सीमा ताेकेर आवेदन मागेका थियाे । सदस्य सचिवको लागि घिसिङसहित ओलम्पियन दीपक विष्ट, पूर्व सदस्य सचिव युवराज लामासहित १८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये घिसिङ नियुक्त भएका हुन् ।

घिसिङले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाे पुष्टि गरे । ‘मन्त्रिपरिषद्ले नियुक्त गर्‍यो भन्ने खबर आएको छ, पत्र पाउन भने बाँकी छ,’ घिसिङले भने ।

सदस्य सचिवका लागि योग्यता र अनुभवका पाँच बुदा तय गरिएको थियो । जसमा नेपाली नागरिक हुनुपर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविधालयबाट कम्तीमा स्नातक तह उतीर्ण भएको हुनुपर्ने, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।