चितवनमा ओलीले रमिता देखाएपछि माधव नेपालको हड्डी हाँस्यो, के-के भने ?

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूले नेकपा (एमाले) बाट विद्रोह गरेको बताएका छन् ।

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेपालले एमालेबाट विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त रहेको टिप्पणी गरे । एमालेमा फरक मत राख्नेहरूको अपमान भइरहेको उल्लेख गर्दै उनले एमालेले जनताको बहुदलीय जनवादको गफ मात्रै हाँकिरहेको बताए ।

‘हामीले नेकपा (एमाले) बाट किन विद्रोह गर्‍यौँ त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरूमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ,’ उनले भने, ‘त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा (एमाले) कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन । त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’

एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने उनको भनाइ थियो । वामपन्थी, लोकतान्त्रिक शक्तिहरू मिलेर बनेको पाँच दलीय गठबन्धनले मुलुक र संविधान मास्नेहरूबाट मुक्ति दिलाएको दाबी गरे ।

‘अहिले हामी वामपन्थी, लोकतान्त्रिक शक्तिहरू एकतावद्ध भएर पाँच दलीय गठबन्धन बनाएका छौँ । यो मुलुकलाई, संविधानलाई क्षतविक्षत पार्न खोज्ने शक्तिबाट मुक्त गरेका छौँ । लोकतन्त्रलाई मास्न खोज्ने शक्तिहरूबाट जोगाएका छौँ । संविधानको, लोकतन्त्रको रक्षा गरेर हामीले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गरेका छौँ,’ उनले भने, ‘हामी क्रान्तिप्रति, त्यसबाट प्राप्त भएको उपलब्धीहरूप्रति अत्यन्त सजग छौँ । गम्भीर छौँ, रक्षा गर्न चाहन्छौँ । अगाडि लान चाहन्छौँ, प्रगतिको दिशामा बढाउन चाहन्छौँ ।’