घामले ओईलाएको साग झैँ किन फत्याकफुतुक भए नेम्वाङ ? किन त्यागे आफ्नै अडान ?

  • प्रकाशित मिति : २०७८ मंसिर १३, सोमबार
  • chhanbin.com

ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेपछि सुवासचन्द्र नेम्वाङ आफू उनीभन्दा अघि राजनीतिमा आएकाले नेता मान्न नसक्ने अडान राख्दै आए । बन्दसत्रमा सूची पेस गर्नुअघि उनले शेरधन राईमार्फत ओलीलाई सन्देश पठाएका थिए, ‘म तपाईंबाहेक अरुलाई नेता मान्न सक्दिनँ ।’

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन पृथ्वीसुब्बा गुरुङ, शेरधन राई, वसन्त नेम्वाङ जनजाति नेताहरूले ओलीलाई दबाब दिएका थिए । ‘जनजातिका लागि पार्टीको वरिष्ठ पदमा पुग्ने यो ठूलो अवसर हो । सहमति नै चाहनुहुन्छ भने उहाँको नाममा सहमति गरौँ नभए निर्वाचनमा जाऔँ,’ उनीहरूले ओलीलाई भनेका थिए ।

पोखरेलले ‘वकिलले बहस गर्न सक्छन् पार्टी चलाउन सक्दैनन्’ भनेर टिप्पणी गरेपछि नेम्वाङ निकै रुष्ट थिए । त्यसको जवाफ दिँदै नेम्वाङले भनेका थिए, ‘वकिलले पार्टी कसरी चलाउँछ भन्ने हेर्न निर्वाचनमा जाऔँ ।’

तर, अन्तिम समयसम्म आफ्नो अडानमा टसमस नभएका नेम्वाङले मनोनयनसम्म दाबेदारी कायम राख्न सकेनन् । सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेम्वाङले पार्टीको आदेश र हलको म्यान्डेटलाई नकार्न नसकेको बताए । सर्वसम्मतिमा नेतृत्व चयन हुँदा निर्वाचनमा नजाने तर निर्वाचनमा प्रवेश गरे आफूले उम्मेदवारी दिने जानकारी अध्यक्ष ओलीलाई गराए पनि हलको म्यान्डेटका कारण आफूले उपाध्यक्षमा चित्त बुझाएको उनको प्रष्टीकरण छ ।

‘नेतृत्व चयन सर्वसम्मतिमा अघि बढेपछि र हलको म्यान्डेटले पनि त्यसलाई अनुमोदन गरेकाले मैले उपाध्यक्षमा बस्ने प्रस्ताव स्वीकार गरेँ,’ नेम्वाङले भने । अध्यक्ष ओलीसँग आफ्ना कुरा राखेर हलको निर्णयलाई सम्मान गरेको उनको दाबी छ । ‘मैले वरिष्ठ उपाध्यक्षमा दाबी गरे पनि हलबाट अध्यक्षको प्रस्तावमा सहमति जनाएपछि हलको निर्णयलाई सम्मान गरेँ,’ उनले भने ।

ओलीले नेम्वाङलाई राजकीय पदमा योग्य मानिस पार्टीको पदाधिकारीमा नबस्न अनुरोध गर्दै राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । तर, प्रस्तावलाई सुरुमै उनले अस्वीकार गर्दै ओलीलाई जवाफ दिएका थिए, ‘जनमतको जिम्मा के पार्टीले लिन सक्छ । मैले पहिला तपाईंलाई सहयोग गरेको थिएँ । अब मलाई सहयोग गर्नुस् ।’

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन ओलीलाई दबाब दिने मध्येका एक नेताले राष्ट्रपतिमा भरपर्दो आश्वासन पाएकाले नै नेम्वाङले उपाध्यक्षमा चित्त बुझाएको बताए । ‘हामीले उहाँलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थियौँ । सबैले प्रतिनिधिहरूलाई उहाँको विषयमा जानकारी पनि गराएका हौँ । अन्तिम समयमा अध्यक्षसँगको छलफलपछि उहाँले गतिलै आश्वासन पाउनुभएको छ । अध्यक्षले दिएको आश्वासन पूरा गर्ने भएकाले पनि उहाँ राष्ट्रपति बनाउने प्रस्तावमा विश्वस्त भएको हुनुपर्छ,’ ती नेताले भने ।

यता नेम्वाङ भने त्यो कुरा स्वीकार्न तयार छैनन् । ‘म व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश ठूलो भन्ने विचार भएको मान्छे हुँ । मैले कुनै पदमा बार्गेनिङ गरेको छैन । हलको निर्णयलाई समर्थन र पार्टीको आदेशलाई सम्मान गरेको हुँ,’ उनले भने । आफूले निर्वाचन लड्दा अहिलेसम्म कुनै पनि पदमा नहारेको बताउने नेम्वाङ वरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्नबाट भने पछि हटेका हुन् ।